बिहीबार १ असोज २०८३
समाज

रसुवामा बाढीपछि खोजी : चिलिमे र अप्पर त्रिशूलीबाट १० शव फेला

बुधबार भदौ ३१, २०८३/ Wednesday 09-16-26

रसुवा । भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएकाहरूको खोजी गर्ने क्रममा रसुवाका विभिन्न जलविद्युत् आयोजनाबाट बुधबार १० जनाको शव फेला परेको छ।

चिलिमे जलविद्युत् केन्द्रको सुरुङ उत्खनन्का क्रममा विद्युत् गृह क्षेत्रमा चारवटा शव र एक मानव अंग फेला परेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिएका छन्। नेपाली सेनाको नेतृत्वमा सशस्त्र प्रहरी, नेपाल विद्युत् प्राधिकरण र भारतीय सेनासहितको खोज तथा उद्धार टोलीले सुरुङ तथा विद्युत् गृह क्षेत्रमा खोजी गरिरहेको छ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले चिलिमे जलविद्युत् केन्द्र परिसरका भवन तथा पर्खालसमेत बगाएको थियो भने सुरुङसमेत बन्द भएको थियो। बाढी आएको समयमा केन्द्रको बिहानको सिफ्टमा एक इन्जिनियर, दुई सुपरभाइजर, दुई चौकीदार र एक कार्यालय सहयोगीसहित ६ जना कर्मचारी कार्यरत रहेको बताइएको छ।

बेपत्ता कर्मचारीको खोजी तथा उद्धारका लागि नेपाली सेनाले सुरुङभित्र प्रवेश गर्ने कामलाई तीव्रता दिएको छ। उद्धार कार्यमा सहयोग पुर्‍याउन धुन्चेमा हेलिकोप्टरसमेत तयारी अवस्थामा राखिएको छ।

यसैबीच, खोज तथा उद्धारमा खटिएको टोलीले अप्पर त्रिशूली जलविद्युत् आयोजना–१ को अडिट टनेलबाट पनि बुधबार पाँच जनाको शव फेला पारेको सहायक प्रमुख जिल्ला अधिकारी रिजालले बताएका छन्।

यससँगै बाढी प्रभावित जलविद्युत् आयोजनाका सुरुङ तथा टनेल क्षेत्रमा बेपत्ताको खोजी कार्यलाई थप तीव्र बनाइएको छ।

 

तपाईको प्रतिक्रिया