सोमबार २९ भदौ २०८३
राजनीति

भोटेकोशी बाढी वर्षाका कारण होइन, हिमपहिरोले आएको सरकारी प्रतिवेदनको निष्कर्ष

आइतबार भदौ २८, २०८३/ Sunday 09-13-26

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी अत्यधिक वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा गएको हिमपहिरोका कारण आएको सरकारी अध्ययनले देखाएको छ।

जल तथा ऊर्जा आयोगअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनअनुसार रसुवाको माथिल्लो ल्हेन्दे खोला क्षेत्रमा हिउँ र चट्टान खस्दा बनेको ‘आइस–रक एभलान्स’ ले बाढी निम्त्याएको हो।

प्रतिवेदनमा हिमपहिरो खस्दा ५.२ म्याग्निच्युड बराबरको भूकम्पीय ऊर्जा रेकर्ड भएको उल्लेख छ। बाढी रसुवागढीसम्म प्रतिघण्टा करिब ८८ किलोमिटरको तीव्र गतिमा पुगेको अध्ययनले देखाएको छ।

बाढीको तीव्र वेगका कारण रसुवागढी, स्याफ्रुबेँसी, बेत्रावती र मलेखुमा रहेका महत्वपूर्ण जलमापन केन्द्रहरू पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। यसले तत्काल पूर्वसूचना प्रवाहमा समेत चुनौती सिर्जना गरेको प्रतिवेदनमा उल्लेख छ।

यद्यपि छोटो समयमै रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी र चितवनका प्रभावित क्षेत्रमा ६ लाख ७८ हजारभन्दा बढी एसएमएसमार्फत सतर्कता सूचना पठाइएको थियो।

अध्ययनले माथिल्लो ल्हेन्दे खोला क्षेत्रमा बाढीपछि दुईवटा नयाँ अस्थायी ताल बनेको समेत जनाएको छ। ती ताल फुट्न सक्ने सम्भावना रहेकाले तल्लो तटीय क्षेत्रमा अझै जोखिम कायम रहेको प्रतिवेदनले चेतावनी दिएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै रसुवाको टिमुरेमा तत्काल पूर्वसूचना दिन नेपालमै पहिलोपटक ‘रियल–टाइम’ नदी अनुगमन प्रणालीसमेत जडान गरिएको छ।

 

तपाईको प्रतिक्रिया