काठमाडौं । साउदी अरबले इस्लाम धर्मावलम्बीको पवित्र सहर मक्कातर्फ आएको यमनका हुथी विद्रोहीको ड्रोन खसालेको दाबी गरेको छ।
साउदी नेतृत्वको यमन सैन्य गठबन्धनका अनुसार ड्रोन निषेधित हवाई क्षेत्रमा प्रवेश गर्नुअघि नै साउदीको हवाई प्रतिरक्षा प्रणालीले खसालेको हो। गठबन्धनका प्रवक्ता जनरल तुर्की अल–मलिकीले मंगलबार साँझ मक्काको दक्षिणी क्षेत्रमा ड्रोन रोकिएको जानकारी दिएका छन्।
घटनाप्रति इस्लामिक सहयोग संगठन (ओआईसी) ले पनि निन्दा गरेको छ। ५७ मुस्लिम बहुल राष्ट्र सदस्य रहेको ओआईसीले मक्कामाथि भएको भनिएको घटनालाई गम्भीर भन्दै हुथीलाई जिम्मेवार ठहर गरेको छ।
साउदी पक्षले यो मक्कालाई लक्षित गरी हुथीहरूले गरेको दोस्रो प्रयास भएको दाबी गरेको छ। यसअघि सन् २०१७ मा पनि हुथीहरूले मक्कातर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको साउदी नेतृत्वको गठबन्धनले दाबी गरेको थियो।
तर हुथीहरूले भने मक्कालाई लक्षित गरी ड्रोन पठाएको आरोप अस्वीकार गरेका छन्। हुथी प्रवक्ता हाजेम अल–असदले सामाजिक सञ्जाल एक्समार्फत मक्कालाई लक्षित गरेको दाबीलाई अस्वीकार गर्दै यसलाई पुरानो आरोपको पुनरावृत्ति भएको बताएका छन्।
मक्का इस्लाम धर्मावलम्बीहरूको सबैभन्दा पवित्र स्थल हो र वार्षिक हज तीर्थयात्राको प्रमुख केन्द्रका रूपमा रहेको छ। साउदी गठबन्धनका प्रवक्ता मलिकीले मक्काको सुरक्षा साउदी अरबका लागि कुनै पनि अवस्थामा सम्झौता गर्न नसकिने विषय भएको बताएका छन्।
मध्यपूर्वमा क्षेत्रीय तनाव बढिरहेका बेला पछिल्लो घटना भएको हो। इरानसँग निकट सम्बन्ध रहेका हुथीहरूले पछिल्लो समय साउदी अरबलाई लक्षित गरी ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गर्दै आएका छन् भने साउदी नेतृत्वको गठबन्धनले लामो समयदेखि यमनमा हुथीविरुद्ध सैन्य कारबाही गर्दै आएको छ।
तपाईको प्रतिक्रिया