प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १४ अर्ब ४५ करोड ९८ लाख रुपैयाँभन्दा बढी रकम मौज्दात रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार बिहानसम्म कोषका विभिन्न बैंक खातामा उक्त रकम जम्मा भएको हो।
कार्यालयका अनुसार नौवटा बैंकमा रहेका खातामा १० अर्ब ७९ करोड २६ लाख ६४ हजार ८९८ रुपैयाँ मौज्दात छ। यस्तै, कोषका दुई बैंक खातामा २ करोड ३९ लाख ३० हजार ७३१ अमेरिकी डलर जम्मा रहेको छ।
कोषमा उपलब्ध रकममध्ये रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि एक अर्ब रुपैयाँ यसअघि नै निकासा भइसकेको छ। उक्त रकम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत परिचालन गरिएको हो।
यसैबीच, सरकारले रसुवाका बाढी प्रभावित परिवारलाई आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि मासिक आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
निर्णयअनुसार चार सदस्यसम्म रहेको परिवारलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराइनेछ। चार जनाभन्दा बढी सदस्य भएको परिवारमा थप प्रत्येक सदस्यका लागि मासिक २ हजार रुपैयाँ अतिरिक्त रकम दिने व्यवस्था गरिएको छ।
तपाईको प्रतिक्रिया