आइतबार ४ असोज २०८३
राजनीति

गगन थापा नेतृत्वको महाधिवेशनमा खड्काले उठाए वैधानिकताको प्रश्न

आइतबार असोज ४, २०८३/ Sunday 09-20-26

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले गगन थापा नेतृत्वमा सुरु भएको कांग्रेसको महाधिवेशनमा आफू सहभागी नहुने स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खड्काले उक्त महाधिवेशनमा सहभागी हुनु नैतिक रूपमा उचित नहुने बताएका छन्। विशेष महाधिवेशन, त्यसबाट निर्वाचित सभापति तथा कार्यसमितिको वैधानिकतामाथि प्रश्न उठाउँदै परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले आफू त्यस प्रक्रियाबाट अलग रहेको उनको भनाइ छ।

खड्काले सर्वोच्च अदालतको फैसलामा त्रुटि रहेको भन्दै पुनरावलोकनका लागि निस्सा प्रदान भइसकेको अवस्थामा मुद्दाको अन्तिम टुङ्गो नलाग्दै महाधिवेशन अघि बढाइएको दाबी गरेका छन्। महाधिवेशन रोक्न माग गर्दै परेको निवेदनमा सर्वोच्चले रोक लगाउन अस्वीकार गरेपछि कांग्रेसका नाममा दुईवटा महाधिवेशन हुने अवस्था सिर्जना भएको उनले उल्लेख गरेका छन्।

यसअघि पनि थापाको हस्ताक्षर भएको टिकटबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिनु नैतिक रूपमा उचित नठानेर आफूले उम्मेदवारी नदिएको खड्काले बताएका छन्।

उनले कांग्रेसमा देखिएको विवादले पार्टी विभाजनको अवस्था निम्त्याउन सक्ने भन्दै विभाजन रोक्न अन्तिम प्रयास भइरहेको बताएका छन्। साथै, सर्वोच्च अदालतमा विचाराधीन पुनरावलोकन मुद्दालाई प्राथमिकताका साथ टुंग्याउन आग्रह गर्दै अदालतबाट आउने अन्तिम फैसला आफूहरूका लागि स्वीकार्य हुने स्पष्ट पारेका छन्।

 

तपाईको प्रतिक्रिया