सोमबार १२ असोज २०८३
समाज

आजदेखि सोह्र श्राद्ध सुरु, पितृको सम्झनामा तर्पण र पिण्डदान गरिँदै

आइतबार असोज ११, २०८३/ Sunday 09-27-26

काठमाडौँ।  हिन्दू धर्मावलम्बीको महत्वपूर्ण धार्मिक परम्परा सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ।

आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्धमा दिवङ्गत पितृको सम्झनामा तर्पण, सिदादान तथा पिण्डदान गर्ने परम्परा छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत पात्रोअनुसार आज प्रतिपदा तिथिको श्राद्ध गर्नुपर्ने उल्लेख छ। धर्मशास्त्रविद्हरूका अनुसार प्रतिपदा तिथिको पिण्डदान अपराह्नपछि गर्नुपर्ने हुन्छ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म पर्ने १६ वटा तिथिमा श्राद्ध गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो। यस अवधिलाई पितृ पक्ष, अपर पक्ष तथा प्रेत पक्षका नामले पनि चिनिन्छ।

वैदिक सनातन परम्पराअनुसार चाडपर्व, यज्ञयज्ञादि तथा ठूला धार्मिक कार्य गर्नुअघि पितृलाई श्रद्धापूर्वक सम्झिने गरिन्छ। पितृ पक्षमा आफ्ना दिवङ्गत पितृप्रति सम्मान व्यक्त गर्दै धार्मिक विधिअनुसार श्राद्ध गर्ने प्रचलन छ।

सोह्र श्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुने र पितृ ऋणबाट मुक्त हुन सकिने धार्मिक विश्वास रहिआएको छ। त्यसैले यस अवधिमा श्राद्धलाई महत्वपूर्ण धार्मिक कर्मका रूपमा लिइन्छ।

धर्मशास्त्रविद्हरूका अनुसार सोह्र श्राद्ध सकेसम्म सम्बन्धित पितृको तिथिमै गर्नुपर्छ। जाताशौच, मृताशौच तथा पत्नी रजस्वला भएका अवस्थाबाहेक श्राद्ध नछोड्नुपर्ने धार्मिक विधान रहेको बताइन्छ।

कुनै कारणले निर्धारित तिथिमा श्राद्ध गर्न नसकिएमा धर्मशास्त्रमा विभिन्न वैकल्पिक व्यवस्था पनि उल्लेख छन्। आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म रोकिएको श्राद्ध गर्न सकिने व्यवस्था रहेको धर्मशास्त्रविद्हरू बताउँछन्।

त्यस अवधिमा पनि श्राद्ध गर्न नसकिए कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिने धार्मिक विधान छ। त्यसपछि पनि सम्भव नभए वृश्चिक सङ्क्रान्तिसम्म श्राद्ध गर्ने विकल्प रहेको धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ।

धर्मशास्त्रमा अष्टमी, द्वादशी र औँसीका साथै भरणी नक्षत्र तथा व्यतीपात योग परेको दिन रोकिएको श्राद्ध गर्न सकिने अन्य विकल्पसमेत उल्लेख गरिएको छ।

यी सबै अवसरमा पनि श्राद्ध गर्न नसकिए विशेष मन्त्रजप गर्ने विकल्प रहेको धर्मशास्त्रविद्हरूको भनाइ छ। यस्तो अवस्थामा स्वयं वा ब्राह्मणमार्फत दैनिक १०८ पटक मन्त्रजप गर्नुपर्ने र निर्धारित विधिअनुसार लामो समयसम्म जप गरे पितृ तृप्त हुने धार्मिक विश्वास छ।

धर्मशास्त्रविद्हरूले सोह्र श्राद्ध अपराह्नकालमा गर्नुपर्ने बताएका छन्। पितृको तिथिअनुसार गर्नुपर्ने श्राद्ध आफूअनुकूल समयमा बिहानै गर्न लगाउने प्रचलन शास्त्रीय विधिसँग मेल नखाने उनीहरूको भनाइ छ।

पितृ पक्ष समाप्त भएपछि दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ। बडादसैँजस्ता ठूला पर्व मनाउनुअघि पितृलाई तृप्त पार्ने उद्देश्यले सोह्र श्राद्ध गर्ने वैदिक सनातन परम्परा रहिआएको छ।

यस वर्ष जेठ महिनामा अधिकमास परेकाले सोह्र श्राद्धसँगै बडादसैँ पर्वको समयसमेत केही पछि सरेको छ।

 

तपाईको प्रतिक्रिया