नारायणगढ–मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने
चितवन । अविरल वर्षासँगै नाम्सीखोला पुलमा थुप्रिएको लेदो र पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ। सडक खुलेसँगै नारायणगढबाट पोखरातर्फ जाने तथा पोखराबाट नारायणगढतर्फ आउने सवारीसाधन र ढुवानीका साधन गन्तव्यतर्फ लागेका छन्।
सडक डिभिजन कार्यालय चितवनका अनुसार नाम्सीखोलामा बिहान ७ः५५ बजे लेदोसहितको पहिरो खसेको थियो। कार्यालयका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार पहिरो पन्छाएपछि दिउँसो १२ः१५ बजेदेखि सडकमा यातायात सञ्चालन भएको हो।
यता, लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकखण्डका विभिन्न ११ स्थानमा पहिरो खस्दा यातायात प्रभावित भएको छ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्डका सूचना अधिकारी इञ्जिनियर सचिन्द्र मिश्रका अनुसार शीलत बजारमा रुख र लेदोसहितको पहिरो खसेको छ भने सडकको छेउसमेत भासिएको छ। बेनिघाट बजारनजिक गोमती खोलामा लेदोसहितको पहिरो खसेपछि सडक एकतर्फी मात्र सञ्चालनमा छ।
त्यस्तै, कृष्णभीरमा माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ। ज्यामिरेघाटको चौकीभीरमा ढुङ्गा र लेदोसहितको पहिरो खसेको छ भने हुग्दी खोलादेखि जवाङखोलासम्म विभिन्न स्थानमा ढुङ्गासहितका साना पहिरो झरेका छन्।
फिस्लिङ आसपासका तीन स्थानमा करिब २०० मिटर सडकमा ढुङ्गा, लेदो र रुखसहितको पहिरो खसेको छ। त्यहाँ करिब ३० मिटर सडकको आधा भाग चर्किएको छ। चुम्लिङटारमा पनि ढुङ्गासहितको पहिरो खसेको छ।
धारापानीका दुई स्थानमा गरी करिब ५० मिटर सडकको आधा भाग भत्किएको मिश्रले जानकारी दिए। सोही क्षेत्रमा कल्भर्ट खुलाउने काम भइरहेको छ। घोप्टेभीर र सिमलधारामा भने ठूला ढुङ्गा तथा लेदोसहितको पहिरो खसेका कारण सडक अवरुद्ध छ।
पहिरो प्रभावित सबै स्थानमा सडक खुलाउने काम भइरहेको आयोजनाले जनाएको छ। ठूलो पहिरो नखसेमा साँझसम्म अधिकांश अवरोध हटाएर यातायात सञ्चालनमा ल्याउने तयारी छ। सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीका उपकरणसमेत पहिरो पन्छाउन प्रयोग भइरहेका छन्।
तपाईको प्रतिक्रिया