सोमबार १२ असोज २०८३
राजनीति

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै पक्राउ

आइतबार असोज ११, २०८३/ Sunday 09-27-26

काठमाडौँ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई काठमाडौँको महाराजगन्जस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिइएको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा जबरालाई नियन्त्रणमा लिइएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिएका छन्।

यद्यपि, उनीविरुद्ध परेको उजुरीको विस्तृत विवरण भने प्रहरीले सार्वजनिक गरिसकेको छैन।

प्रधानन्यायाधीशका रूपमा कार्यरत रहँदा जबरामाथि मन्त्रिपरिषद्मा भागबन्डा खोजेको लगायतका आरोप लागेका थिए। उक्त प्रकरणलाई लिएर कानुन व्यवसायीहरूले लामो समय आन्दोलनसमेत गरेका थिए।

जबराले २०७५ पुस १८ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए।

उनविरुद्ध २०७८ फागुन १ गते संसद्मा महाभियोग प्रस्ताव दर्ता भएको थियो। महाभियोग प्रस्ताव पारित नभए पनि त्यसपछि उनी सर्वोच्च अदालतमा पुनः फर्किन पाएनन्।

निलम्बित अवस्थामै रहेका जबरा उमेर हदका कारण अनिवार्य अवकाशमा गएका थिए।

 

तपाईको प्रतिक्रिया