सोमबार १२ असोज २०८३
माैसम

तिनाउको बाढीले बुटवलमा ६ घर बगायो, सयौँलाई सुरक्षित स्थानमा सारियो

आइतबार असोज ११, २०८३/ Sunday 09-27-26

बुटवल। लगातारको वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ वटा घर बगाएको छ। शनिबार राति आएको बाढीका कारण नदी आसपासका क्षेत्रमा जोखिम बढेपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको थियो।

बुटवल उपमहानगरपालिका–११ टपमजुवामा नदीको बाढीले ६ वटा घरमा क्षति पुर्‍याएको हो। बाढी आउनुअघि नै नदी किनारका बस्तीका सयौँ स्थानीयलाई सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति हुनबाट जोगिएको जनाइएको छ।

शनिबार दिउँसोदेखि तिनाउमा पानीको बहाव निरन्तर बढेपछि बिनापाते, बुद्धनगर, मजुवा र टपमजुवालगायत क्षेत्रका स्थानीयलाई विद्यालय तथा मन्दिरमा स्थानान्तरण गरिएको थियो।

प्रभावितलाई नवीन स्कुल, उजिरसिंह माध्यमिक विद्यालय तथा जितगढीस्थित मन्दिरलगायत सुरक्षित स्थानमा राखिएको थियो।

नदी किनारमा रहेका केही घरमा बाढीले क्षति पुर्‍याएको छ। पानीको सतह बढेपछि जनप्रतिनिधि तथा सुरक्षा निकायका टोलीले जोखिमयुक्त क्षेत्रमा पुगेर स्थानीयलाई सतर्क गराएका थिए।

बाढीको जोखिम बढेपछि इलाका प्रहरी, सशस्त्र प्रहरी र स्थानीय तहको टोली उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि विभिन्न क्षेत्रमा परिचालन भएको थियो।

पाल्पाका विभिन्न क्षेत्रमा समेत पानीको सतह बढेपछि तल्लो तटीय क्षेत्रमा त्रास बढेको थियो। पछिल्लो समय भने तिनाउमा पानीको बहाव केही घटेको र तत्काल ठूलो जोखिम नरहेको स्थानीय तथा प्रहरीले बताएका छन्।

 

तपाईको प्रतिक्रिया