शनिबार १७ असोज २०८३
राजनीति

प्रधानमन्त्री शाहको सल्लाहकार तथा स्वकीय सचिवालयमा २५ जना, को–कुन जिम्मेवारीमा?

शुक्रबार असोज १६, २०८३/ Friday 10-02-26

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार तथा स्वकीय सचिवालयमा कार्यरत २५ जनाको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको छ।

सार्वजनिक विवरणअनुसार प्रधानमन्त्रीको सल्लाहकार समूहमा राजनीतिक, नीति, प्रशासन, सुशासन, सूचना प्रविधि, स्वास्थ्यलगायत विभिन्न क्षेत्रका विज्ञ तथा सल्लाहकारहरू रहेका छन्। उनीहरूमध्ये केहीलाई मन्त्री तथा राज्यमन्त्रीसरहको सेवा–सुविधा उपलब्ध गराइएको छ।

कुमार ब्यञ्जनकारलाई अवैतनिक मुख्य राजनीतिक सल्लाहकारका रूपमा राखिएको छ। राजनीतिक सल्लाहकार असिम शाहले मन्त्रीसरहको तलब तथा सुविधा पाउने व्यवस्था गरिएको छ।

त्यस्तै, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदिप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रलाई राज्यमन्त्रीसरहको सेवा–सुविधा उपलब्ध गराइएको छ। अवैतनिक स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदिश प्रसाद अग्रवाललाई भने मन्त्रीसरहको सेवा–सुविधा दिइएको विवरणमा उल्लेख छ।

प्रधानमन्त्रीको स्वकीय सचिवालयको नेतृत्व प्रमुख स्वकीय सचिव सुवाष शर्माले गरिरहेका छन्। उनलाई राजपत्रांकित विशिष्ट श्रेणीसरहको जिम्मेवारी दिइएको छ। स्वकीय सचिवमा नविन भण्डारी रहेका छन्, जसलाई राजपत्रांकित प्रथम श्रेणीसरहको जिम्मेवारी तोकिएको छ।

सहसचिव अर्थात् राजपत्रांकित प्रथम श्रेणीसरहको जिम्मेवारीमा सञ्जिव पाण्डे, दिपा दाहाल, सन्तोष गिरी र विश्व राई रहेका छन्। पाण्डेलाई विकास परियोजना, दाहाललाई प्रेस तथा अनुसन्धान विज्ञ, गिरीलाई कार्यक्रम तथा भ्रमण संयोजक तथा राईलाई सामाजिक विकास विज्ञको जिम्मेवारी दिइएको छ।

उपसचिव अर्थात् राजपत्रांकित द्वितीय श्रेणीसरहको जिम्मेवारी प्रकृति ढकाल, विशाल अधिकारी र विनय शाक्यले सम्हालेका छन्।

सहायक विज्ञतर्फ सुमन गौतमलाई नागरिक उड्डयन तथा रवि किरण अधिकारीलाई भाषा तथा मस्यौदासम्बन्धी जिम्मेवारी दिइएको छ।

यसैगरी, शाखा अधिकृत तथा अन्य प्राविधिक र प्रशासनिक तहमा सुरेन्द्र बजगाई प्रेस सहजकर्ता, रोशन तामाङ्ग ग्राफिक्स डिजाइन, बेदानन्द जोशी, हेम नारायणदास चौधरी अनुसन्धान अधिकृत, अनुप थापा मगर, ऋषी थापा, अमृत पाण्डे भिडियोग्राफर, राज कुमार गौतम र बेनिस कार्की कार्यरत रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणमा सल्लाहकार तथा सचिवालयका सदस्यहरूको पद, जिम्मेवारी र उनीहरूलाई उपलब्ध गराइएको सेवा–सुविधासम्बन्धी विवरणसमेत समेटिएको छ।

 

तपाईको प्रतिक्रिया