शनिबार १७ असोज २०८३
राजनीति

निर्वाचन प्रहरीको कपडा खरिदबारे अध्ययन गर्न ९ सदस्यीय समिति गठन

शुक्रबार असोज १६, २०८३/ Friday 10-02-26

काठमाडौं । निर्वाचन प्रहरीका लागि खरिद गरिएको कपडासम्बन्धी विषयमा अध्ययन गर्न सार्वजनिक लेखा समितिले नौ सदस्यीय अध्ययन समिति गठन गरेको छ।

शुक्रबार बसेको लेखा समितिको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो। समितिलाई दुई महिनाभित्र अध्ययन पूरा गरी प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ।

समितिका सदस्यमा सांसद ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही रहेका छन्।

निर्वाचन प्रहरीका लागि कपडा खरिदमा अनियमितता भएको भनिएको विषयमा लेखा समितिको बैठकमा छलफल भएको थियो। खरिद प्रक्रिया र त्यससँग सम्बन्धित कागजात अध्ययन गरी वास्तविक अवस्था पहिचान गर्न समिति गठन गर्ने निर्णय गरिएको हो।

बैठकमा सांसद खगेन्द्र सुनारले कपडा खरिद प्रक्रियामाथि प्रश्न उठिसकेको अवस्थामा समितिले विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखेका थिए। उनले सम्बन्धित कागजात उपलब्ध गराउन माग गरिएको भए पनि त्यसबारे पर्याप्त जानकारी नदिइएको बताए।

सांसद खुश्बु ओलीले बाहिर आएका सूचना वा सामाजिक सञ्जालमा भएका चर्चाका आधारमा मात्रै निष्कर्षमा पुग्न नहुने बताइन्। उपलब्ध कागजात, तथ्य र सम्बन्धित निकायका विवरण अध्ययन गरेर मात्रै आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ थियो।

सांसद ऐन महरले पनि विषयलाई तथ्य र प्रमाणका आधारमा अध्ययन गर्नुपर्ने धारणा राखेका थिए। छलफलपछि समितिले तत्काल निष्कर्षमा पुग्नुभन्दा अध्ययनमार्फत खरिद प्रक्रियाको वास्तविक अवस्था पत्ता लगाउने निर्णय गरेको हो।

 

तपाईको प्रतिक्रिया