सांसद अन्सारीको आरोपप्रति नेशनल मेडिकल कलेजको आपत्ति
काठमाडौं। प्रतिनिधि सभामा सांसद रहबर अन्सारीले नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा उठाएका विभिन्न आरोप तथा टिप्पणीप्रति कलेज प्रशासनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कलेजले शुक्रवार विज्ञप्ति जारी गर्दै आफू सन् २००१ देखि त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गर्दै आएको संस्थाका रूपमा सञ्चालनमा रहेको जनाएको हो।
कलेजका अनुसार स्थापनादेखि हालसम्म चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, नेपाल मेडिकल काउन्सिल तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत सम्बन्धित निकायको नियमित अनुगमन र नियामकीय प्रक्रियाअन्तर्गत संस्था सञ्चालन हुँदै आएको छ।

सांसद अन्सारीले उठाएका आरोपका सम्बन्धमा हालसम्म कुनै सम्बन्धित नियामक वा सरकारी निकायबाट ती आरोप पुष्टि भएको आधिकारिक निष्कर्ष प्राप्त नभएको कलेजले जनाएको छ। यद्यपि, कलेजले तथ्यमा आधारित, निष्पक्ष र पारदर्शी परीक्षणका लागि आफू पूर्ण रूपमा तयार रहेको स्पष्ट पारेको छ।
कलेजले सम्बन्धित निकायले आवश्यक ठानेमा सम्पूर्ण अभिलेख, कागजात तथा विवरण उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको जनाएको छ।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा सार्वजनिक रूपमा उठाइने विषय प्रमाणित तथ्य, दस्तावेजी आधार तथा अधिकारप्राप्त निकायको आधिकारिक परीक्षणमा आधारित हुनुपर्ने कलेजको धारणा छ। अपुष्ट आरोप तथा टिप्पणीले विद्यार्थी, चिकित्सक, कर्मचारी, बिरामी र सर्वसाधारणमा अनावश्यक भ्रम तथा अविश्वास सिर्जना गर्न सक्ने कलेजले जनाएको छ।
नेशनल मेडिकल कलेजले आफ्नो करिब २५ वर्षको संस्थागत इतिहास, चिकित्सा शिक्षाको गुणस्तर, सुरक्षित स्वास्थ्य सेवा, विद्यार्थीको शैक्षिक हित तथा प्रचलित नियामकीय मापदण्डको पालनाप्रति आफू प्रतिबद्ध रहेको पुनः स्पष्ट गरेको छ।
तपाईको प्रतिक्रिया