वर्षाका कारण नेपाल एसियाडको क्वाटरफाइनलबाटै बाहिरियो, श्रीलंका सेमिफाइनलमा
काठमाडौं । लगातारको वर्षाका कारण खेल हुन नसक्दा नेपाल एसियन गेम्सको क्रिकेटतर्फ क्वाटरफाइनलबाटै बाहिरिएको छ ।
समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको नेपालले मंगलबार श्रीलंकासँग प्रतिस्पर्धा गर्ने तय भएको थियो । तर वर्षाका कारण खेल सुरु हुन नसकेपछि बिना बल खेले नै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
खेल रद्द भएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० वरीयताका आधारमा श्रीलंका सेमिफाइनलमा प्रवेश गरेको छ । पछिल्लो वरीयतामा श्रीलंका नवौँ तथा नेपाल १४औँ स्थानमा रहेको छ ।
नेपाल समूह ‘ए’ को विजेता बनेर क्वाटरफाइनल पुगेको थियो । समूह चरणको पहिलो खेलमा नेपालले अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो । आयोजक जापानसँगको दोस्रो खेल भने वर्षाका कारण नतिजाविहीन बनेपछि नेपालले तीन अंकसहित समूहको शीर्ष स्थान हासिल गरेको थियो ।
जापानविरुद्धको खेलमा नेपालले १५ ओभरमा चार विकेट गुमाएर १४९ रन बनाएको थियो । सन्दीप जोराले ५७ तथा लोकेश बमले ५२ रनको अविजित पारी खेलेका थिए ।
यसअघि अफगानिस्तानविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेटको जित निकालेको थियो । अफगानिस्तानलाई २० ओभरमा १०२ रनमा रोकेपछि नेपालले १७.२ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।
तपाईको प्रतिक्रिया