राजनीतिक दलका कार्यक्रममा सहभागी हुने शिक्षकमाथि कारबाही गर्न निर्देशन
काठमाडौं । सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलका गतिविधि तथा कार्यक्रममा सहभागी भएको विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले चासो देखाउँदै आवश्यक कारबाही अघि बढाउन देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ।
बैतडी, बागलुङ, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट र सल्यानलगायत जिल्लामा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विवरण सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि मन्त्रालयले सबै जिल्लामा निगरानी र छानबिन गर्न निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार शिक्षकहरूलाई राजनीतिक गतिविधिमा संलग्न हुन रोक लगाउने व्यवस्था शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) को खण्ड (ग) मा उल्लेख छ। उक्त कानुनी व्यवस्थाविपरीत गतिविधि गर्ने शिक्षकको पहिचान गरी आवश्यक अनुसन्धान गर्न मन्त्रालयले सम्बन्धित निकायलाई भनेको छ।
मन्त्रालयले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गर्दै त्यस्ता शिक्षकको गतिविधिमाथि थप निगरानी राख्न र सम्बन्धित स्थानीय तहसँग समन्वय गरी कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।
परिपत्रमा शिक्षा नियमावलीको नियम १३७ को खण्ड (ग) तथा नियम १४३ बमोजिम आवश्यक कारबाहीको व्यवस्था मिलाउन समेत भनिएको छ।
तपाईको प्रतिक्रिया