काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी दुई ठूला क्रिकेट प्रतियोगितालाई लक्षित गर्दै काठमाडौंका प्रमुख क्रिकेट मैदानको स्तरोन्नति तथा पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ।
नेपालले पहिलोपटक आयोजना गर्न लागेको आईसीसी यू–१९ महिला विश्वकप आगामी पुसमा हुँदैछ। यस्तै, नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण कात्तिकदेखि सञ्चालन गर्ने तयारी छ।
दुवै प्रतियोगितालाई लक्षित गर्दै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा आवश्यक संरचना थप्ने तथा मैदानलाई व्यवस्थित बनाउने काम भइरहेको क्यानका उपाध्यक्ष रोशनबहादुर सिंहले जानकारी दिएका छन्।
उनका अनुसार एनपीएलका अघिल्ला संस्करणमा देखिएका दर्शक व्यवस्थापन, पार्किङ तथा अन्य व्यवस्थापकीय कमजोरीलाई यसपटक सुधार गर्ने तयारी भइरहेको छ। खेल हेर्न आउने दर्शकलाई सहज वातावरण उपलब्ध गराउने गरी मैदान आसपासको व्यवस्थापनमा समेत ध्यान दिइएको उनले बताए।
विशेषगरी मोटरसाइकल तथा अन्य सवारीसाधनको पार्किङ व्यवस्थित गर्ने, दर्शकलाई हुन सक्ने असहजता पहिचान गरी त्यसको समाधान गर्ने तथा खेल सञ्चालनका क्रममा व्यवस्थापनलाई प्रभावकारी बनाउने तयारी भइरहेको सिंहको भनाइ छ।
यू–१९ महिला विश्वकपका खेल भने त्रिभुवन विश्वविद्यालय र मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन्। मूलपानीको तुलनामा त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बढी खेल सञ्चालन गर्ने तयारी रहेको क्यानले जनाएको छ।
विश्वकपलाई लक्षित गर्दै दुवै मैदानमा दर्शकका लागि प्यारापिट, खेलाडी तथा टोलीका लागि विश्रामस्थल र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी), एसियाली क्रिकेट परिषद् (एसीसी) तथा खेलाडीका अभिभावकका लागि आवश्यक विशिष्ट संरचना निर्माण भइरहेको छ।
तर, मूलपानी क्रिकेट मैदानको निर्माण तथा स्तरोन्नतिको काम लामो समयदेखि जारी रहे पनि अझै पूर्ण रूपमा सम्पन्न हुन नसकेको भन्दै क्यानले सरकारको ध्यानाकर्षण गराएको छ। मैदान निर्माणको कामलाई गति दिन आवश्यक पहल गर्न उपाध्यक्ष सिंहले सरकारसँग आग्रह गरेका छन्।
नेपालमा अन्तर्राष्ट्रियस्तरका पर्याप्त क्रिकेट मैदान निर्माण हुन सके ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सहज हुने क्यानको धारणा छ। विश्वकप, एसीसी प्रिमियर कप, एसिया कप तथा विश्वकप छनोटजस्ता प्रतियोगिता आयोजना गर्न सक्ने गरी पूर्वाधार विकास गर्नुपर्नेमा सिंहले जोड दिएका छन्।
उनका अनुसार नेपालमा ठूला क्षमताका कम्तीमा दुईवटा अन्तर्राष्ट्रिय क्रिकेट मैदान तयार भए भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने क्षमता थप विस्तार हुनेछ। यस्ता प्रतियोगिता नेपालमा आयोजना हुँदा पर्यटन तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्न सक्ने उनको भनाइ छ।
क्रिकेटले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै क्यानले क्रिकेट पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन सरकार, स्थानीय तह र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको जनाएको छ।
तपाईको प्रतिक्रिया