ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई पनि बिक्री अनुमति दिने तयारी
काठमाडौं । सरकारले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई समेत ग्यास बिक्री–वितरणको अनुमति दिने तयारी गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले विकास, आर्थिक मामिला तथा सुशासन समितिले आयोजना गरेको दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापन तथा अनुगमनसम्बन्धी कार्यक्रममा यस्तो जानकारी दिएका हुन्।
उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले हाल पेट्रोलियम पदार्थ बिक्री गर्दै आएका छन्। ती सुरक्षा निकायका पेट्रोलियम आउटलेटबाट एलपी ग्याससमेत बिक्री गर्न सक्ने व्यवस्था मिलाउने तयारी भइरहेको उनले बताए।
सचिव तामाङले पेट्रोलियम पदार्थ बिक्री गर्ने सुरक्षा निकायका आउटलेटमध्ये कम्तीमा एक–दुई स्थानमा ग्यास बिक्रीको व्यवस्था गर्न सके आपत्कालीन अवस्थामा आपूर्ति सहज बनाउन सकिने बताए।
उनले सम्भावित ग्यास अभावलाई ध्यानमा राख्दै आवश्यक पूर्वतयारी र व्यवस्थापनका काम अघि बढाइएको पनि जानकारी दिए।
तपाईको प्रतिक्रिया