बिहीबार २६ कार्तिक २०८३
समाज

असिनाले ढाकियो विमानस्थलको रनवे, आठ जहाज आकाशमै रोकिए

बुधबार कार्तिक २५, २०८३/ Wednesday 11-11-26

काठमाडौँ । बुधबार दिउँसो अचानक मौसम परिवर्तन भई बाक्लो असिनासहित वर्षा र हावाहुरी चलेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको छ।

दिउँसो करिब १:४५ बजेदेखि विमानस्थलको रनवे र ट्याक्सी–वेमा बाक्लो असिना जमेपछि उडान सञ्चालन रोकिएको हो। मौसम प्रतिकूल हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय गरी आठवटा जहाज आकाशमै होल्ड भएका छन्।

विमानस्थलका प्रवक्ता सञ्जयकुमारका अनुसार असिना जमेपछि उडान तथा अवतरण रोकिएको हो। असिना हटाउने छुट्टै उपकरण नभएकाले दमकल प्रयोग गरी रनवे सफा गर्ने काम भइरहेको छ।

मौसम बिग्रिएपछि राजविराज जान तयार बुद्ध एयर र बैंकक उड्न लागेको थाई एयरवेजको जहाज पार्किङ क्षेत्रमा फर्किएका छन्।

यसैबीच, वर्षा र असिनाका कारण विमानस्थलको आन्तरिक प्रस्थान कक्षमा समेत पानी चुहिएको छ। सुरक्षा जाँच हुने क्षेत्रको छतमा रहेका प्यानल लाइटबाट पानी झरेको जनाइएको छ।

विमानस्थल अधिकारीका अनुसार मौसममा सुधार आई धावनमार्ग सञ्चालनयोग्य भएपछि मात्रै नियमित उडान तथा अवतरण पुनः सुरु हुनेछ।

 

तपाईको प्रतिक्रिया