मंगलबार १ मङ्सिर २०८३
राजनीति

भारत भ्रमणमा जाँदै प्रधानमन्त्री बालेन, मोदीसँग मंसिर ७ गते द्विपक्षीय वार्ता

सोमबार कार्तिक ३०, २०८३/ Monday 11-16-26

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आगामी मंसिर ६ गते भारत भ्रमणमा जाने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी आइतबार नयाँ दिल्ली जान लागेका हुन्।

भ्रमणको दोस्रो दिन मंसिर ७ गते प्रधानमन्त्री बालेनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री मोदीसहित उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। सोही दिन नेपाल–भारतबीच द्विपक्षीय वार्ता हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

भ्रमणका क्रममा दुई देशबीच सीमा सुरक्षा, सीमा विवाद, ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार विकास, कनेक्टिभिटी र खेलकुदका विषयमा छलफल हुने बताइएको छ। नेपालले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनामा भारतको सहयोगसमेत अपेक्षा गरेको स्रोतको भनाइ छ।

त्यसैगरी, हवाई मार्ग विस्तार र क्रिकेट क्षेत्रको विकासमा भारतीय सहयोग जुटाउने विषय पनि छलफलको कार्यसूचीमा रहेको जनाइएको छ। प्रधानमन्त्री बालेनले युवालक्षित कार्यक्रम सञ्चालनमा सहयोग गर्न भारतीय समकक्षी मोदीसँग आग्रह गर्ने तयारी गरेका छन्।

यसैबीच, भारतको रेल मन्त्रालयले जनकपुरधामदेखि अयोध्यासम्म सीधा रेल सेवा सञ्चालनका लागि स्वीकृति दिएको छ। भ्रमणका अवसरमा मंसिर ७ गते प्रधानमन्त्री बालेन र मोदीले उक्त रेल सेवाको संयुक्त उद्घाटन गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।

प्रधानमन्त्री बनेलगत्तै मोदीले बालेनलाई भारत भ्रमणको निमन्त्रणा दिएका थिए। तर नेपालको आन्तरिक व्यस्तताका कारण भ्रमणको मिति तय हुन सकेको थिएन। हालै भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण र प्रधानमन्त्री बालेनसँगको भेटपछि भ्रमणको मिति निश्चित भएको हो।

 

तपाईको प्रतिक्रिया