मंगलबार १ मङ्सिर २०८३
बिजनेस

बैंकहरूको मुद्दती निक्षेपको ब्याजदर फेरि घट्यो, मंसिरमा औसत ३.९०६ प्रतिशत

सोमबार कार्तिक ३०, २०८३/ Monday 11-16-26

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पर्याप्त भएपछि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाउने क्रमलाई मंसिर महिनामा पनि निरन्तरता दिएका छन्। कात्तिकको तुलनामा मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.१०७ प्रतिशत बिन्दुले घटेको छ।

२० वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ३.९०६ प्रतिशत कायम भएको छ। कात्तिकमा यस्तो ब्याजदर ४.०१३ प्रतिशत थियो।

पछिल्ला महिनाहरूमा पनि निक्षेपको ब्याजदर निरन्तर घटिरहेको छ। साउनमा ४.१६७५ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर भदौमा ४.१३६०, असोजमा ४.०८९६ हुँदै मंसिरमा ३.९०६ प्रतिशतमा झरेको हो।

मंसिर महिनाका लागि ६ वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १४ वटा बैंकले कात्तिककै ब्याजदरलाई निरन्तरता दिएका छन्।

मंसिरमा सानिमा बैंकले सबैभन्दा बढी ४.५ प्रतिशत ब्याजदर दिने भएको छ। बैंकले पाँच वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा उक्त ब्याजदर उपलब्ध गराउने जनाएको छ। सामान्यतः बैंकहरूले छोटो अवधिको तुलनामा लामो अवधिको मुद्दती निक्षेपमा बढी ब्याजदर दिने गरेका छन्।

नयाँ ब्याजदर मंसिरमा नयाँ मुद्दती खाता खोल्ने तथा अवधि पूरा भएर नवीकरण गर्ने निक्षेपकर्ताका लागि मात्रै लागू हुनेछ। यसअघि नै मुद्दती निक्षेपमा रकम जम्मा गरेका ग्राहकले भने खाता खोल्दा भएको सम्झौताअनुसार नै ब्याज पाउनेछन्।

बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम उपलब्ध हुनु र कर्जा प्रवाहको वृद्धि सुस्त रहनु ब्याजदर घट्नुका प्रमुख कारण मानिएका छन्। निक्षेपको ब्याजदर घट्दा बैंकहरूको आधार दरमा समेत कमी आउने र त्यसले कर्जाको ब्याजदर घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया