कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, खुलामञ्चमा उद्घाटन समारोह
काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। महाधिवेशनको औपचारिक उद्घाटन दिउँसो २ बजे गर्ने कार्यक्रम तय गरिएको छ।
कांग्रेसका अनुसार महाधिवेशनमा ७ हजार ५०० भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। उद्घाटन समारोहपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ भने असोज २१ र २२ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइनेछ।
उद्घाटन समारोहमा सहभागी हुन कांग्रेसले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको छ। निमन्त्रणा पाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतलगायत छन्।
त्यसैगरी भारत, चीन, अमेरिका लगायतका मुलुकबाट पनि विदेशी पाहुनालाई आमन्त्रण गरिएको कांग्रेसले जनाएको छ। सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा नेपाल आइसकेकी छन्। अन्य देशका राजनीतिक दलका प्रतिनिधि सहभागी हुने तथा विभिन्न दलबाट शुभकामना सन्देश प्राप्त भएको पनि कांग्रेसले जनाएको छ।
महाधिवेशनलाई व्यवस्थित बनाउन खुलामञ्चमा मुख्य मञ्च निर्माण गरिएको छ भने बन्दसत्र सञ्चालनका लागि तीनवटा हल तयार पारिएका छन्। सञ्चारकर्मीका लागि मिडिया सेन्टर, स्वास्थ्य सेवाका लागि हेल्थ डेस्क र प्रतिनिधिहरूको खानपानका लागि भृकुटीमण्डपमा व्यवस्था मिलाइएको भोजन व्यवस्थापन समितिका संयोजक तिलक रानाभाटले जानकारी दिएका छन्।
असोज २२ गतेसम्म सञ्चालन हुने महाधिवेशनको उद्घाटन समारोहका लागि खुलामञ्चलाई सजाउने तथा आवश्यक व्यवस्थापनका काम अन्तिम चरणमा पुर्याइएको छ। महाधिवेशनले आगामी कार्यकालका लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ।
तपाईको प्रतिक्रिया