सोमबार १९ असोज २०८३
समाज

देवदहमा पेस्तोलबाट गोली प्रहार, घाइतेसहित तीन जना पक्राउ

आइतबार असोज १८, २०८३/ Sunday 10-04-26

रुपन्देही । रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली प्रहार गरेको अभियोगमा प्रहरीले एक जना घाइतेसहित तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार असोज १७ गते दिउँसो करिब साढे ३ बजे देवदह नगरपालिका–५ का ४२ वर्षीय दीपक खरेल ‘दुर्गाप्रसाद’ले चलाएको पेस्तोलबाट एक राउन्ड गोली प्रहार भएको थियो।

गोली लागेर बुटवल उपमहानगरपालिका–९ मिलनचोकका २२ वर्षीय रायन खत्री क्षेत्री घाइते भएका छन्। गोली लाग्दा उनको दाहिने गालाको छाला खोसिएर चोट लागेको प्रहरीले जनाएको छ। घाइते खत्रीको देवदह मेडिकल कलेज, भलुहीमा उपचार भइरहेको छ।

घटना भएको जानकारी पाएपछि प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले घटनामा संलग्न व्यक्तिहरूलाई पेस्तोल तथा गोलीसहित नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा देवदह नगरपालिका–५ मितेरी गाउँका ४२ वर्षीय दीपक खरेल, सोही स्थानका ३८ वर्षीय कमल शर्मा र १८ वर्षीय अमृत खरेल रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट एक थान पेस्तोल र दुई राउन्ड गोली बरामद गरेको जनाएको छ।

पक्राउ परेकाहरूमाथि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिएका छन्।

 

तपाईको प्रतिक्रिया