सोमबार १९ असोज २०८३
राजनीति

कांग्रेसमा पदाधिकारी बढाउने सहमति, उपसभापति ४ र सहमहामन्त्री १३ जना बनाइने

आइतबार असोज १८, २०८३/ Sunday 10-04-26

काठमाडौं । नेपाली कांग्रेसमा पार्टीका पदाधिकारीको संख्या बढाउने विषयमा नेताहरूबीच सहमति जुटेको छ। पदाधिकारीका आकांक्षी बढ्दै गएपछि नेतृत्व तहमा प्रतिनिधित्व विस्तार गर्ने उद्देश्यले विधान संशोधनमार्फत पदाधिकारी संख्या बढाउन लागिएको हो।

सहमतिअनुसार उपसभापतिको संख्या दुईबाट बढाएर चार पुर्‍याइनेछ। चार उपसभापतिमध्ये एक जना वरिष्ठ उपसभापति रहने व्यवस्था प्रस्ताव गरिएको छ। त्यस्तै, उपसभापतिमध्ये एक जना महिला अनिवार्य हुने र सबै उपसभापति निर्वाचनबाट चयन हुने समझदारी बनेको छ।

यसअघि कांग्रेसको विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ निर्वाचित सहमहामन्त्री र सभापतिबाट मनोनीत तीन सहमहामन्त्री रहने व्यवस्था थियो। कोषाध्यक्ष पनि सभापतिबाट मनोनीत हुने प्रावधान छ।

सहमहामन्त्रीको संख्या पनि बढाउने सहमति भएको छ। हाल कायम ११ सहमहामन्त्रीको व्यवस्थालाई संशोधन गरी संख्या १३ पुर्‍याउने प्रस्ताव गरिएको छ। प्रस्तावअनुसार ११ जना सहमहामन्त्री निर्वाचनबाट चयन हुनेछन् भने थप दुई जना केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनीत गर्ने व्यवस्था गरिनेछ।

महामन्त्रीको संख्या भने दुई जना नै कायम राख्ने समझदारी बनेको छ। केही नेताहरूले महामन्त्रीको संख्या बढाएर तीन पुर्‍याउन आग्रह गरे पनि त्यसमा सहमति जुट्न सकेन।

सभापति गगन थापालाई पदाधिकारीको संख्या बढाउन नेताहरूले सुझाव दिएका थिए। उनीहरूले केही पद मनोनीत गर्ने व्यवस्था राख्नसमेत आग्रह गरेका थिए। तर सभापति थापाले पदाधिकारीलाई सकेसम्म निर्वाचन प्रक्रियाबाट चयन गर्ने पक्षमा अडान राखेको बताइएको छ।

पदाधिकारी संख्या बढाउने प्रस्तावलाई विधान संशोधनअन्तर्गत महाधिवेशनको बन्द सत्रमा प्रस्तुत गरिनेछ। बन्द सत्रबाट पारित भएपछि मात्रै प्रस्तावित व्यवस्थाले औपचारिकता पाउनेछ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनअन्तर्गत सोमबार र मंगलबार बन्द सत्र सञ्चालन हुने तथा त्यसपछि निर्वाचन प्रक्रिया अघि बढाइने कार्यक्रम छ।

 

तपाईको प्रतिक्रिया