कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको रक्षा र मुलुकको रूपान्तरणका लागि नेपाली कांग्रेससँग पुनः सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले विगतमा लोकतान्त्रिक आन्दोलनमा कांग्रेस र एमालेबीच सहकार्य हुँदै आएको स्मरण गरे। उनले कांग्रेस सभापति गगनकुमार थापासँग आफूहरू लामो समयदेखि राजनीतिक आन्दोलनमा सँगै रहेको उल्लेख गर्दै थापा कांग्रेसको नेतृत्वमा आउनु सकारात्मक भएको बताए।
पोखरेलका अनुसार गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनदेखि नै आफूहरूबीच सहकार्य रहँदै आएको छ। उनले त्रिचन्द्र क्याम्पसको सभादेखि आफूहरू एउटै राजनीतिक मोर्चामा उभिएको स्मरण गरे।
उनले राणा शासन, पञ्चायती व्यवस्था र पूर्वराजा ज्ञानेन्द्रको शासनविरुद्ध पनि कांग्रेस र एमालेले मिलेर संघर्ष गरेको उल्लेख गर्दै अब पनि लोकतन्त्रको संरक्षण र मुलुकको विकासका लागि सहकार्य आवश्यक रहेको बताए।
‘अब फेरि पनि मिलेर लोकतन्त्र र यो देशको मुहार फेर्न लाग्नुपर्ने समय आएको छ,’ पोखरेलले भने।
वर्तमान सरकारप्रति आलोचनात्मक देखिएका पोखरेलले राजनीतिक दलहरूसँग पर्याप्त छलफल र सहकार्य नगरी सरकार अघि बढिरहेको आरोप लगाए। प्रधानमन्त्रीले संसद् र जनताका आवाजलाई बेवास्ता गरिरहेको भन्दै उनले सरकारको कार्यशैलीलाई ‘स्वेच्छाचारी शासन’को संज्ञा दिए।
यस्तो अवस्थामा नेपाली कांग्रेसले आगामी दिनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास पनि उनले व्यक्त गरे।
पोखरेलले युवापुस्तामा बढ्दै गएको निराशालाई सम्बोधन गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए। युवाका आकांक्षा र सपनालाई सम्बोधन गर्ने जिम्मेवारी राजनीतिक दलहरूको भएकाले त्यसका लागि सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।
‘युवाहरूलाई निराश हुन दिनु हुँदैन। युवाका सपनाहरू पूरा गर्ने जिम्मेवारीमा हामी सबै मिलेर जानुपर्छ,’ उनले भने।
एमाले महासचिव पोखरेलले कांग्रेसको १५औँ महाधिवेशनले जनताको भावना र सरोकारसँग जोडिएका विषयलाई प्राथमिकतामा राख्दै नयाँ राजनीतिक एजेन्डा अघि बढाउने अपेक्षा पनि व्यक्त गरे। सूचना प्रविधिको विकासमा कांग्रेस र एमालेले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको दाबी थियो।
तपाईको प्रतिक्रिया