युवा पुस्तालाई विश्वास गरेर अघि बढ्न दलहरूलाई पूर्वप्रधानमन्त्री भट्टराईको आग्रह
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको समग्र विकासका लागि दीर्घकालीन राष्ट्रिय योजना बनाएर त्यसको कार्यान्वयनमा राजनीतिक दलहरूबीच प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आयोजित उद्घाटन सत्रलाई सम्बोधन गर्दै भट्टराईले नेपालले आगामी २० वर्षमा विकसित मुलुकको स्तरमा पुग्ने स्पष्ट लक्ष्यसहित योजना बनाउनुपर्ने धारणा राखे।
उनले मलेसिया, दक्षिण कोरिया, सिंगापुर र चीनले छोटो समयमै उल्लेख्य आर्थिक प्रगति हासिल गरेको उदाहरण दिँदै नेपालले पनि त्यस्ता देशबाट सिकेर विकासको स्पष्ट मार्गचित्र तय गर्नुपर्ने बताए।
‘अहिले पनि समय छ, सबैले सोच्नुस् । अरु देश कसरी विकास भए ? हाम्रै जीवनकालमा मलेसिया, कोरिया, सिंगापुर, चीनहरू ग्लोबल साउथबाट ग्लोबल नर्थसम्म पुगे भने हामी पनि आगामी २० वर्षभित्र त्यहाँ कसरी पुग्ने ?’ उनले भने।
भट्टराईले विकासको साझा योजना बनाएर त्यसलाई कार्यान्वयन गर्ने विषयमा राजनीतिक दलहरूले प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए। उनका अनुसार दीर्घकालीन राष्ट्रिय लक्ष्यमा दलहरूबीच सहमति र कार्यान्वयनमा स्वस्थ प्रतिस्पर्धा भए मात्रै मुलुकले अपेक्षित गति लिन सक्छ।
‘त्यसको एउटा योजना बनाऔं । त्यसलाई सबै पार्टीहरूले कसरी कार्यान्वयन गर्ने भनेर प्रतिस्पर्धा गरौं । त्यसो गरे मात्रै देश बन्छ,’ उनले भने।
यस्तै, मुलुकमा राजनीतिक स्थिरता कायम गर्न नयाँ पुस्ताप्रति विश्वास गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए। विगतका अनुभवबाट पाठ सिक्दै नेतृत्व र राजनीतिक प्रक्रियामा नयाँ पुस्तालाई अवसर दिनुपर्ने उनको भनाइ थियो।
‘अब पाठ सिकौं । अब हामीले नयाँ पुस्तालाई विश्वास गर्नुपर्छ,’ भट्टराईले बताए।
तपाईको प्रतिक्रिया