कांग्रेसको महाधिवेशनलाई लक्षित गर्दै बालेनले भने– ‘धन्न खुलामञ्च राम्रो बनाइएछ
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले काठमाडौंको खुलामञ्चमा नेपाली कांग्रेसले महाधिवेशन आयोजना गरेको विषयलाई लिएर व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।
प्रधानमन्त्री शाहले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत खुलामञ्चबारे आफ्नो धारणा सार्वजनिक गर्दै नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएको बताएका हुन्।
उनले लेखेका छन्, ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्।’
नेपाली कांग्रेसले आइतबार काठमाडौंको खुलामञ्चमा पार्टीको १५औँ महाधिवेशनको उद्घाटन समारोह आयोजना गरेको थियो। उक्त कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापाले सम्बोधन गर्दै मुलुकमा संसद्, राजनीतिक दल तथा समुदायभित्र समेत खुला बहस र फरक मत राख्ने वातावरण आवश्यक रहेको बताएका थिए।
लामो समय बन्द रहेको खुलामञ्च पछिल्लो समय राजनीतिक तथा अन्य सार्वजनिक सभा–समारोहका लागि चर्चामा आएको छ। बालेन शाह काठमाडौं महानगरपालिकाको प्रमुख रहँदा खुलामञ्चको स्तरोन्नति गर्ने उद्देश्यले यसको प्रयोगमा रोक लगाइएको थियो।
प्रधानमन्त्री शाहको पछिल्लो टिप्पणी कांग्रेसको महाधिवेशन उद्घाटन समारोहकै दिन आएको हो। उनको अभिव्यक्तिलाई खुलामञ्चमा आयोजित कांग्रेसको कार्यक्रमप्रति लक्षित व्यङ्ग्यका रूपमा हेरिएको छ।
तपाईको प्रतिक्रिया