सोमबार १९ असोज २०८३
राजनीति

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

आइतबार असोज १८, २०८३/ Sunday 10-04-26

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई रूपान्तरण गरेर मात्रै मुलुक परिवर्तन गर्न सकिने बताएका छन्। उनले १५औँ महाधिवेशनबाट नयाँ ऊर्जा, स्पष्ट दृष्टिकोण र दृढ संकल्प लिएर बाहिरिन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

काठमाडौंको खुलामञ्चमा आइतबार आयोजित कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले महाधिवेशनलाई नेतृत्व चयनमा मात्र सीमित नराखी पार्टीको विगत, वर्तमान र भविष्यको समीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने बताए।

‘बदलिएको कांग्रेसले यो देश पनि बदल्छ भन्ने विश्वास लिएर यो महाधिवेशनबाट जानुपर्ने छ। यो सफल पारेर ऊर्जा लिएर जानुपर्ने छ,’ उनले भने।

थापाले देशको पछिल्लो अवस्थाका कारण महाधिवेशनलाई उत्सवका रूपमा मात्रै मनाउन सहज नभएको बताए। रसुवामा आएको बाढीपहिरोले पुर्‍याएको क्षति र प्रभावित नागरिकको पीडालाई स्मरण गर्दै उनले संविधान र कानुनी व्यवस्थाका कारण महाधिवेशन आयोजना गर्नुपरेको स्पष्ट पारे।

उनले कांग्रेसले पछिल्ला राजनीतिक घटनाक्रमबाट पाठ सिक्दै आफूभित्र गम्भीर आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिए। लामो समयदेखि नेतृत्व र सत्ता वरिपरि घुमिरहेको राजनीतिले जनतामा सबै दल र नेता उस्तै हुन् भन्ने धारणा विकास गरेको उनको भनाइ थियो।

प्रधानमन्त्री र मन्त्रीका पदमा पटक–पटक दोहोरिने प्रवृत्तिले राजनीतिक नेतृत्वप्रति जनताको विश्वास कमजोर बनाएको उल्लेख गर्दै थापाले राजनीतिलाई ‘म्युजिकल चियर’ जस्तो बनाइएको टिप्पणी गरे।

‘म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो, जसले भदौ २३ र २४ आयो,’ उनले भने।

उनले सामाजिक सञ्जालदेखि समाजका विभिन्न तहसम्म राजनीतिक ध्रुवीकरण बढेको उल्लेख गर्दै भदौ २३ र २४ का घटनालाई राजनीतिक असन्तुष्टिसँग जोडेर व्याख्या गरे। त्यसपछि कांग्रेसले विशेष महाधिवेशनमार्फत आफूलाई सच्याउने प्रयास गरेको र निर्वाचनमा जनताले दिएको निर्णय स्वीकार गर्नुपरेको उनले बताए।

थापाले कांग्रेसले विगतका राजनीतिक उपलब्धिमा मात्रै गर्व गरेर अबका चुनौती सामना गर्न नसक्ने स्पष्ट पारे। राजनीतिक परिवर्तन भए पनि नागरिकको आर्थिक तथा सामाजिक जीवनमा अपेक्षित सुधार आउन नसकेको विषयमा पार्टीले जवाफ खोज्नुपर्ने उनको भनाइ थियो।

‘३५ वर्षदेखि युद्ध किन व्यहोर्‍यौँ? शान्ति प्रक्रियामा पनि यही भयो। यही ३५ वर्षभित्र सबै गाउँ रित्तियो। किन रोजगारी भएन? युवा किन पलायन भयो?’ उनले प्रश्न गरे।

युवालाई स्वदेशमै रोजगारी र अवसर उपलब्ध गराउने, गाउँलाई उत्पादनसँग जोड्ने तथा अर्थतन्त्रलाई चलायमान बनाउने विषय कांग्रेसको प्राथमिकतामा हुनुपर्ने उनले बताए।

थापाले लोकतन्त्र र नागरिकको दैनिक जीवनबीच सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिए। राजनीतिक अधिकार प्राप्त हुनु मात्रै पर्याप्त नभई त्यसको प्रतिफल नागरिकले सेवा, अवसर र आर्थिक विकासका रूपमा अनुभूत गर्न पाउनुपर्ने उनको भनाइ थियो।

‘डेमोक्रेसी र डेलिभरीको पुलको काम कांग्रेसले गर्छ,’ उनले भने, ‘पुल ढल्यो भने विश्वास ढल्छ।’

उनका अनुसार कांग्रेसले पुरानो र नयाँ पुस्ताबीच पनि समन्वयकारी भूमिका खेल्नुपर्छ। नयाँ पुस्ताको आकांक्षा र पुरानो पुस्ताको अनुभवलाई जोड्दै पार्टीको सोच, कार्यशैली र संगठनमा परिवर्तन ल्याउनुपर्ने उनले बताए।

थापाले राजनीतिक लाभका लागि सिद्धान्तसँग सम्झौता गर्न नहुने धारणा राखे। निर्वाचनमा हारजितलाई मात्रै सफलताको मापदण्ड बनाउन नहुने भन्दै उनले मूल्य र मान्यतामा आधारित राजनीति गर्नुपर्ने बताए।

‘हामी लालुपाते होइनौँ, हामी प्रस्ट हुन्छौँ। सिद्धान्तमा अडिनुपर्दा पाँचवटा चुनाव हार्न तयार छौँ, तर सिद्धान्तसँग सम्झौता गर्दैनौँ,’ उनले भने।

उनले उद्योगी तथा व्यवसायीलाई सम्मान गर्दै निजी क्षेत्रलाई रोजगारी सिर्जना, उत्पादन वृद्धि र आर्थिक विकासको साझेदारका रूपमा हेर्नुपर्ने बताए। व्यवसायीबाट कर उठाउने दृष्टिकोणमा मात्रै सीमित नभई उत्पादनमुखी अर्थतन्त्र निर्माणमा जोड दिनुपर्ने उनको भनाइ थियो।

खुलामञ्चको ऐतिहासिक महत्वबारे चर्चा गर्दै थापाले यसलाई काठमाडौंको एउटा सार्वजनिक चौरका रूपमा मात्रै बुझ्न नहुने बताए। नेपालको लोकतान्त्रिक आन्दोलनमा खुलामञ्चले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै उनले बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालालगायतका नेताले यही स्थानबाट जनतासँग संवाद गरेको उल्लेख गरे।

दस वर्षपछि खुलामञ्चमा कार्यक्रम गर्न पाएको प्रसंग उल्लेख गर्दै उनले नागरिकले नेताहरूलाई प्रश्न गर्न पाउने वातावरण आवश्यक रहेको बताए।

‘नेतालाई प्रश्न गर्दा सदस्यता नकाटियोस्,’ उनले भने, ‘यो देशलाई खुलामञ्च चाहिएको छ। यसकारण हामी १० वर्षपछि खुलामञ्च खुलाएर आएका छौँ।’

थापाले संसद् र राजनीतिक दल पनि जनताका प्रश्न तथा फरक मतका लागि खुला हुनुपर्ने बताए। प्रधानमन्त्री र नेतृत्वले जनताको आवाज सुन्ने संस्कार विकास नगरे लोकतान्त्रिक व्यवस्थाप्रतिको विश्वास कमजोर हुने उनको भनाइ थियो।

कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको अनुपस्थितिबारे पनि थापाले टिप्पणी गरे। महाधिवेशनमा देउवाका लागि कुर्सी खाली राखिएको भए पनि उनी सहभागी हुन नआएको उल्लेख गर्दै उनले अब यस विषयमा पार्टीले स्पष्ट धारणा बनाउनुपर्ने बताए।

‘पूर्वसभापति शेरबहादुर देउवाका लागि कुर्सी खाली राखेका थियौँ, तर आउनुभएन। कति पटक जाने हो, लिन कसरी जाने हो?’ उनले भने।

पार्टी छाडेर गएका नेताहरूको विषयमा पनि कांग्रेसले स्पष्ट दृष्टिकोण राख्नुपर्ने थापाको भनाइ थियो। पार्टीको नेतृत्व र संगठनमा परिवर्तनसँगै बाहिरिएका नेता तथा कार्यकर्तासँगको सम्बन्धबारे पनि स्पष्ट हुनुपर्ने उनले बताए।

थापाले संसद्मा पुगेका कांग्रेसका सांसदहरूलाई जनताको मतअनुसार जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरे। सांसदहरूले संसद्मा जनताका आवाज उठाउने, सरकारलाई प्रश्न गर्ने र नीतिनिर्माणमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा जनताले गरेको उनले बताए।

उनले कांग्रेसले निराशा, आलोचना र अरूलाई दोष दिने प्रवृत्तिबाट बाहिरिनुपर्नेमा जोड दिए। पार्टीले आफ्नो पहिचान भाषण र आलोचनाबाट नभई काम तथा परिणामबाट स्थापित गर्नुपर्ने उनको भनाइ थियो।

‘एउटा संकल्प गरौँ– निराश र निन्दक भएर होइन, कर्मबाट, आफ्नो पहिचानबाट स्थापित गर्नेगरी संकल्प गर्नेछौँ,’ उनले भने।

थापाले १५औँ महाधिवेशनबाट कांग्रेसले नयाँ ऊर्जा र संकल्पका साथ अघि बढ्ने विश्वास व्यक्त गरे। पार्टीभित्र लोकतान्त्रिक संस्कार सुदृढ गर्ने, युवाका अपेक्षा सम्बोधन गर्ने, रोजगारी सिर्जना गर्ने र आर्थिक विकासलाई प्राथमिकता दिने दिशामा कांग्रेस अघि बढ्नुपर्ने उनले बताए।

 

तपाईको प्रतिक्रिया