बिहीबार २२ असोज २०८३
राजनीति

कांग्रेस १५औँ महाधिवेशन : सभापतिमा तीन र वरिष्ठ उपसभापतिमा विश्वप्रकाशको एकल उम्मेदवारी

बुधबार असोज २१, २०८३/ Wednesday 10-07-26

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ।

केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यतालिकाअनुसार विभिन्न पदमा दर्ता भएका उम्मेदवारहरूको पहिलो सूची सार्वजनिक गरेको हो।

सार्वजनिक प्रारम्भिक नामावलीअनुसार सभापति पदका लागि तीन जनाले उम्मेदवारी दिएका छन्। सभापतिमा गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै, वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको मात्रै उम्मेदवारी परेको छ। निर्वाचन समितिले सार्वजनिक गरेको पहिलो नामावलीमा वरिष्ठ उपसभापतिका लागि शर्माको एकल उम्मेदवारी कायम रहेको उल्लेख छ।

निर्वाचन समितिका अनुसार प्रारम्भिक नामावलीमा कुनै दाबी–विरोध वा आपत्ति भएमा आज बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म आवश्यक कागजातसहित निर्वाचन समितिको कार्यालयमा सम्पर्क गर्न सकिनेछ।

दाबी–विरोध तथा आपत्तिमाथिको प्रक्रिया पूरा भएपछि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।

कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन हुँदैछ। सभापतिसहित विभिन्न पदमा उम्मेदवारी दर्ता भइसकेपछि निर्वाचन समितिले अब दाबी–विरोधको प्रक्रिया टुंग्याएर अन्तिम उम्मेदवारको सूची सार्वजनिक गर्ने तयारी गरेको छ।

 

तपाईको प्रतिक्रिया