बिहीबार २२ असोज २०८३
राजनीति

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

बुधबार असोज २१, २०८३/ Wednesday 10-07-26

काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चालन गरेको ‘हामी आउँदैछौँ’ अभियान काभ्रेपलाञ्चोकमा बुधबारदेखि सुरु भएको छ। एक सातासम्म चल्ने अभियानमार्फत जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम तय गरिएको छ।

अभियानका लागि रास्वपाले सांसदहरू जगदीश खरेल, गणेश कार्की र कुसुम महर्जनलाई केन्द्रीय प्रतिनिधिका रूपमा काभ्रेपलाञ्चोक पठाएको छ। बनेपामा आयोजित कार्यक्रममा अभियानको उद्घाटन गर्दै सांसद महर्जनले स्थानीय नागरिकलाई आफ्ना समस्या, गुनासा तथा विकास निर्माणसम्बन्धी सुझाव राख्न आग्रह गरिन्।

उनका अनुसार प्रत्यक्ष भेटघाटमा सहभागी हुन नसक्ने नागरिकले लिखित रूपमा समेत आफ्ना समस्या र सुझाव पार्टीसमक्ष उपलब्ध गराउन सक्नेछन्।

अभियानका क्रममा जिल्लाका १३ वटै स्थानीय तहमा पुगेर नागरिक, पार्टीका नेता–कार्यकर्ता तथा सरोकारवालासँग भेटघाट र छलफल गरिनेछ। साथै स्थानीयस्तरका समस्या तथा जनगुनासा संकलन गरी पार्टीको राजनीतिक अभियानलाई जनस्तरसम्म विस्तार गर्ने योजना रहेको छ।

केन्द्रीय प्रतिनिधिहरूले जिल्ला तथा स्थानीय नेतृत्वसँग समन्वय गर्दै विभिन्न नगरपालिका र गाउँपालिकामा कार्यक्रम सञ्चालन गर्नेछन्। अभियानका लागि आवश्यक स्थान र समयतालिकासमेत सार्वजनिक गरिएको छ।

रास्वपा काभ्रेका जिल्ला सभापति प्रवीणकुमार ढकालले स्थानीय तहका समस्या तथा नागरिकका अपेक्षा बुझ्नु अभियानको मुख्य उद्देश्य रहेको बताए। उनका अनुसार संकलित सुझाव तथा समस्यालाई केन्द्रसम्म पुर्‍याएर समाधानका लागि आवश्यक पहल गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

ढकालले अभियानलाई औपचारिक राजनीतिक भेटघाटमा सीमित नराखी नागरिकको घरदैलोसम्म पुगेर स्थानीय समस्या पहिचान गर्ने बताए। उनका अनुसार अभियानबाट जिल्लाको राजनीतिक अवस्था र नागरिकका अपेक्षाबारे प्रत्यक्ष जानकारी लिन सकिने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया