काठमाडौं । साताको कारोबारको तेस्रो दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । नेप्से परिसूचक ६.३८ अंकले घट्दै २,५७२.३४ विन्दुमा झरेको हो । अघिल्लो दिन दोहोरो अंकले उकालो लागेको बजार बुधबार भने पुनः ओरालो लागेको छ ।
बुधबार कारोबार रकममा पनि उल्लेख्य सुधार हुन सकेन । दिनभरमा कुल ३ अर्ब ७४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । कम्पनीको करिब ३२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
समूहगत प्रदर्शनतर्फ बैंकिङ उपसूचक ०.११ प्रतिशतले बढेको छ भने अन्य सबै समूहका उपसूचकमा गिरावट आएको छ ।
बुधबार मूल्य बढ्ने कम्पनीमा पनि घलेम्दी हाइड्रोपावर नै अगाडि रह्यो । यसको सेयर मूल्य ६.२५ प्रतिशतले वृद्धि भएको छ । यता, सबैभन्दा धेरै मूल्य घट्नेमा ग्लोबल आइएमई समुन्नत योजना रहेको छ, जसको मूल्य ५.२६ प्रतिशतले घटेको छ ।
तपाईको प्रतिक्रिया