बिहीबार २२ असोज २०८३
राजनीति

कांग्रेसको बन्द सत्र आज, प्रवेश खुला र प्रत्यक्ष प्रसारण हुने

बुधबार असोज २१, २०८३/ Wednesday 10-07-26

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चौथो दिनको बन्द सत्र आज सुरु हुँदैछ। बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न राजनीतिक प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याउँदै पारित गर्ने तयारी गरिएको छ।

कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार खुलामञ्चमा प्रवेश पाएका सबैलाई बन्द सत्रमा सहभागी हुन खुला गरिएको छ। उनका अनुसार यसअघि सम्पन्न विशेष महाधिवेशनमा पनि बन्द सत्र सबैका लागि खुला गरिएको थियो।

बन्द सत्रको प्रत्यक्ष प्रसारण नेपाली कांग्रेसको आधिकारिक फेसबुक पेजमार्फत गरिनेछ। अन्य सञ्चारमाध्यमलाई समेत बन्द सत्रको प्रत्यक्ष प्रसारण गर्न अनुमति दिइएको प्रवक्ता चालिसेले जानकारी दिए।

बन्द सत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ सम्बन्धी राजनीतिक प्रस्तावमाथि छलफल हुनेछ। त्यस्तै, उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ सम्बन्धी समसामयिक प्रस्तावमाथि पनि छलफल गरी पारित गर्ने कार्यसूची छ।

यसैगरी महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथिको छलफल पनि आज टुंग्याउने तयारी गरिएको छ।

सोमबारदेखि सुरु भएको छलफलमा महाधिवेशन प्रतिनिधिहरूले पार्टीको आगामी राजनीतिक दिशा, संगठन सुदृढीकरण, राजनीतिक संस्कृतिमा सुधार तथा आर्थिक व्यवस्थापनलगायतका विषयमा धारणा र सुझाव राख्दै आएका छन्।

कांग्रेसको सूचना, सञ्चार तथा प्रविधि समितिका सदस्य डा. सुरेश आचार्यका अनुसार छलफलमा सातै प्रदेशका महाधिवेशन प्रतिनिधिसहित पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ।

आजको बन्द सत्रपछि सभापति गगनकुमार थापाले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ। सभापतिको सम्बोधनसँगै बन्द सत्रको छलफल औपचारिक रूपमा टुंग्याउने कांग्रेसको तयारी छ।

राजनीतिक, संगठनात्मक र आर्थिक प्रतिवेदन पारित भएपछि कांग्रेस महाधिवेशन नेतृत्व चयनको प्रक्रियातर्फ अघि बढ्नेछ।

यसअघि नै नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भइसकेको छ। सभापति पदमा गगनकुमार थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दिएका छन्।

 

तपाईको प्रतिक्रिया