शनिबार २४ असोज २०८३
खेलकुद

एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप फेरिँदै

शुक्रबार असोज २३, २०८३/ Friday 10-09-26

काठमाडौं।  नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिएसँगै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा पूर्वाधार निर्माणको काम तीव्र पारिएको छ।

आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई लक्षित गर्दै मैदानको स्तरोन्नति, दर्शकदीर्घामा कुर्सी जडान, पिच तथा आउटफिल्डको व्यवस्थापन र प्रवेशद्वार निर्माणलगायतका काम अघि बढाइएको हो।

दर्शकदीर्घामा पहेँलो, रातो, सुन्तला र सेतो रङका नयाँ कुर्सी जडान गरिएका छन्। खेलको गुणस्तर सुधार गर्न पिचको अवस्था र आउटफिल्डलाई समेत व्यवस्थित बनाउने काम भइरहेको छ।

मैदानका क्युरेटर तथा कर्मचारीहरू घाँसको लम्बाइ मिलाउन, पिचको कडापन कायम गर्न र आउटफिल्डको हेरचाहमा जुटेका छन्। घाँसलाई आवश्यक पानी तथा मलखाद उपलब्ध गराउँदै खेलाडीको सुरक्षालाई ध्यानमा राखेर मैदान तयार पार्ने काम भइरहेको छ।

मैदान परिसरमा दर्शकदीर्घा, खेलाडी प्रवेशमार्ग तथा अन्य संरचना निर्माणको काम पनि जारी छ। निर्माणकर्मीहरूले नयाँ संरचनाको जग तयार पार्ने तथा फलामका ट्रस र बिम जडान गर्ने काम गरिरहेका छन्। प्रतियोगिताको प्रत्यक्ष प्रसारणलाई सहज बनाउन कमेन्ट्री कक्ष, टेलिभिजन क्यामेरा राख्ने स्थान र विशिष्ट अतिथिका लागि छुट्टै कक्ष निर्माण गर्ने तयारीसमेत गरिएको छ।

प्रतियोगिताका क्रममा दर्शकको आवागमन व्यवस्थित गर्न सुरक्षा जाँच चौकी, सीसीटीभी क्यामेरा र धातु पहिचान गर्ने उपकरणको व्यवस्था गरिनेछ। दर्शकलाई निर्धारित प्रवेशद्वार र सिटसम्म सहज रूपमा पुग्न डिजिटल टिकट प्रणाली लागू गर्ने तयारी पनि गरिएको छ।

त्यस्तै, सवारीसाधनको चाप व्यवस्थापन गर्न कीर्तिपुर क्षेत्रका खुला स्थानमा पार्किङको व्यवस्था मिलाउने योजना छ। विदेशी कमेन्टेटर तथा टेलिभिजन प्राविधिकका लागि आधुनिक सुविधासहितका कार्यकक्ष तयार पार्ने कामसमेत अघि बढाइएको छ।

एनपीएल अवधिमा दर्शकको ठूलो उपस्थिति हुने अपेक्षा गरिएकाले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन नेपाल प्रहरी र आयोजकले आवश्यक तयारी गरिरहेका छन्। मैदानको स्तरोन्नति र पूर्वाधार निर्माणले प्रतियोगिता सञ्चालन तथा दर्शकको सुविधामा सुधार आउने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया