दसैंका लागि आज देखि अग्रिम टिकट बुकिङ खुला, नयाँ बसपार्कमा यात्रुको भीड
काठमाडौं। दसैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै आजदेखि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरिएको छ। दसैं नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको चाप व्यवस्थापन गर्न सरकारले अग्रिम टिकट काट्ने व्यवस्था मिलाएको हो।
अग्रिम टिकट बुकिङ खुला भएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बिहानैदेखि टिकट काट्ने यात्रुको भीड लागेको छ। घर फर्किनका लागि सर्वसाधारण बिहानैदेखि लाइनमा बसेका छन्। कतिपय यात्रु टिकट लिएर गन्तव्यतर्फ लागेका छन् भने अन्य यात्रु आफ्नो पालो पर्खिरहेका छन्।
दसैंका बेला लामो तथा मध्यम दूरीका सवारीसाधनमा यात्रुको चाप बढ्ने भएकाले यात्रुलाई सहज रूपमा घर फर्कने व्यवस्था मिलाउन अग्रिम टिकट बुकिङ खुला गरिएको हो।
यात्रुको चापलाई ध्यानमा राख्दै लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनलाई आवश्यकताअनुसार सञ्चालन गर्न फूलपातीदेखि पूर्णिमासम्मका लागि रुट परमिटसमेत खुला गरिएको छ। यस व्यवस्थाले दसैंको समयमा यात्रुको आवागमन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया