कांग्रेस महाधिवेशन : पहिलो दुई घण्टामा १ हजार २९३ मत खस्यो
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा पहिलो दुई घण्टामा १ हजार २९३ मत खसेको छ।
बिहान ८ः३० बजेदेखि १०ः३० बजेसम्मको विवरणअनुसार कोशी प्रदेशमा २२२, सुदूरपश्चिम र कर्णाली प्रदेशमा २५७, लुम्बिनीमा २०२, गण्डकीमा १८८ र बागमतीमा २१७ मत खसेको छ।
मतदान प्रक्रिया निर्वाध रूपमा अघि बढिरहेको छ। महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधि सहभागी छन्।
मतदान गर्न एक जना प्रतिनिधिलाई ३० देखि ४० मिनेटसम्म लाग्ने गरेको छ। प्रतिनिधिहरू उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन्। सभापतिका उम्मेदवार गगनकुमार थापा, श्यामकृष्ण खड्गीलगायत अन्य उम्मेदवारहरू मतदानका लागि लाइनमा बसेका प्रतिनिधिसँग मत मागिरहेका छन्।
मतदानको पहिलो मत ८१ वर्षीय कास्की क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि शोभाचन्द्र बरालले खसालेका थिए।
यसअघि बिहीबारका लागि तय गरिएको मतदान मतपत्र छपाइमा भएको ढिलाइ र आवश्यक प्राविधिक तयारी पूरा नभएका कारण स्थगित गरिएको थियो। तयारी पूरा भएपछि शुक्रबार मतदान प्रक्रिया अघि बढाइएको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिएका छन्।
मतदानबाट कांग्रेसको आगामी कार्यकालका लागि नयाँ केन्द्रीय कार्यसमिति चयन हुनेछ।
तपाईको प्रतिक्रिया