शनिबार २४ असोज २०८३
राजनीति

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

शुक्रबार असोज २३, २०८३/ Friday 10-09-26

काठमाडौं । सरकारले बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्ने प्रक्रिया अघि बढाउन समिति गठनसम्बन्धी आदेश स्वीकृत गरेको छ।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा ‘बिटौरी जग्गामा बसोबास गरी आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्नेसम्बन्धी समिति गठन आदेश, २०८३’ स्वीकृत गर्ने निर्णय गरेको हो।

बैठकले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न पनि अनुमति दिएको छ।

त्यसैगरी, नेपाल न्याय सेवाअन्तर्गत सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्दै बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरिएको छ। उक्त निर्णयबारे सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिएका हुन्।

यसका साथै, जापानको आइची नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगितामा पदक जित्ने महिला कबड्डी तथा करातेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

तपाईको प्रतिक्रिया