काठमाडौं । पितृपक्ष अर्थात् सोह्रश्राद्ध शनिबार सम्पन्न हुँदैछ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध औँसीका दिन समाप्त हुने धार्मिक परम्परा छ।
वैदिक सनातन धर्मावलम्बीले यस अवधिमा आफ्ना दिवंगत पितृको सम्झनामा तिथिअनुसार श्राद्ध तथा तर्पण गर्ने गर्छन्। आश्विन कृष्ण पक्षका १५ तिथि र पूर्णिमा गरी १६ तिथिलाई आधार मानेर श्राद्ध गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो।
सोह्रश्राद्धमा दिवंगत पिताको मृत्यु भएको तिथिअनुसार श्राद्ध गर्ने परम्परा छ। यस क्रममा पितृ पक्षका तीन पुस्ता र मावली पक्षका तीन पुस्ताका पूर्वजलाई सम्झँदै पिण्डदान तथा तर्पण गरिन्छ। कतिपयले तीन पुस्ताका दम्पतीलाई समेटेर छवटा पिण्ड दिने गर्छन् भने कतिपयले प्रत्येक पूर्वजका लागि छुट्टाछुट्टै गरी १२ वटा पिण्ड दिएर श्राद्ध गर्ने परम्परा पनि छ।
धार्मिक मान्यताअनुसार औँसी तिथिलाई पितृकर्मका लागि विशेष महत्त्वपूर्ण मानिन्छ। सोह्रश्राद्धको अन्तिम दिन औँसीमा यसअघि विभिन्न कारणले रोकिएको श्राद्धसमेत गर्ने चलन छ। पूर्णिमा तिथिमा दिवंगत भएका व्यक्तिको श्राद्ध पनि यही दिन गरिन्छ।
सोह्रश्राद्धको अन्तिम दिन भएकाले शनिबार विभिन्न पवित्र तीर्थस्थल तथा नदी किनारमा श्राद्ध, तर्पण र पिण्डदान गर्नेहरूको चहलपहल बढेको छ।
सोह्रश्राद्ध सम्पन्न भएको भोलिपल्ट अर्थात् आश्विन शुक्ल प्रतिपदादेखि बडादशैँअन्तर्गत नवरात्र सुरु हुनेछ। नवरात्रको सुरुवातसँगै नेपालीहरूको प्रमुख चाड बडादशैँको धार्मिक विधि औपचारिक रूपमा अघि बढ्नेछ।
तपाईको प्रतिक्रिया