आइतबार २५ असोज २०८३
राजनीति

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा सडक किनारमै खाना पकाउँदै चालक, यात्रु पनि अलपत्र

शनिबार असोज २४, २०८३/ Saturday 10-10-26

भरतपुर । धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध हुँदा काठमाडौँतर्फ जाने मालवाहक सवारीसाधन र यात्रुवाहक बसहरू अलपत्र परेका छन्। राजमार्ग अवरुद्ध भएपछि चाडपर्वका लागि खाद्यान्न बोकेर हिँडेका चालक तथा सहचालक सडक किनारमै खाना पकाएर रात बिताउन बाध्य भएका छन्।

राजमार्ग अवरुद्ध हुँदा भरतपुरको केन्द्रीय बसपार्कअगाडि मालवाहक गाडीहरूको लामो लस्कर लागेको छ। शुक्रबार रातिदेखि रोकिएका सवारीसाधनका चालकले गन्तव्यमा पुग्न नपाउँदा दैनिक खर्च, खानपिन र शौचालयको समस्यासमेत भोग्नुपरेको बताएका छन्।

चामललगायत दसैँका लागि आवश्यक खाद्य सामग्री बोकेका गाडीहरू लामो समयदेखि रोकिएको चालक विशाल राजपुतले बताए। उनका अनुसार चालकहरू नजिकैको धाराबाट पानी ल्याएर सडक छेउमै चुलो बाल्दै खाना पकाउन बाध्य छन्।

चाडपर्वका बेला परिवारसँग भेटघाट गर्ने र समयमै सामान गन्तव्यमा पुर्‍याउने योजनामा रहेका चालकहरू सडक अवरुद्ध हुँदा समस्यामा परेका छन्। यसअघि पनि काठमाडौँ जाने क्रममा कृष्णभीरलगायत स्थानमा लामो समयसम्म रोकिएको अनुभव सुनाउँदै उनीहरूले राजमार्ग छिट्टै सञ्चालनमा आउने आशा व्यक्त गरेका छन्।

राजमार्ग अवरुद्ध हुँदा चितवन र धादिङ हुँदै काठमाडौँतर्फ जाने यात्रु पनि प्रभावित भएका छन्। भरतपुर बसपार्कमा रोकिएका यात्रुलाई ट्राफिक प्रहरीले हेटौँडाको वैकल्पिक मार्ग प्रयोग गरी गन्तव्यतर्फ जान सहजीकरण गरेको छ। यात्रुबाट लिइएको भाडा व्यवस्थापनमा समेत प्रहरीले सहयोग गरेको जनाइएको छ।

नागढुंगा–मुग्लिन सडक आयोजनाको पूर्वी खण्डका इन्जिनियर राजीव मानन्धरका अनुसार गजुरीबाट काठमाडौँतर्फ करिब पाँच किलोमिटरको दूरीमा सडकको लगभग ७० मिटर लम्बाइ र चार मिटर चौडाइको भाग भासिएको छ। सडक भित्तासम्मै चर्किएकाले तत्काल मर्मत गरी यातायात सञ्चालनमा ल्याउन काम अघि बढाइएको छ।

सडक खुलाउन पाँचवटा एक्साभेटर, दुईवटा लोडर र छवटा टिप्पर परिचालन गरी भित्तो काट्ने काम भइरहेको छ। राजमार्गमाथि गाउँ जाने शाखा सडक रहेकाले सबै भागमा भित्तो काट्न सम्भव नभएको आयोजनाले जनाएको छ।

शनिबार साँझसम्म कम्तीमा एकतर्फी रूपमा यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको इन्जिनियर मानन्धरले बताएका छन्। सडक अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधनको आवागमन प्रभावित बनेको छ।

 

तपाईको प्रतिक्रिया