काठमाडौँ । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले ठूलो क्षति पुर्याएको छ । बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु जोड्ने मोटरेबल पक्की पुल बगाएको छ भने विभिन्न बस्तीका घर तथा झोलुङ्गे पुलसमेत बगाएको छ ।
बाढीका कारण माछिखोला बजारमा ठूलो क्षति पुगेको छ । त्यस्तै, केरौँजा जाने झोलुङ्गे पुल बगाएको छ भने सल्लेरी र जगत बजारमा समेत व्यापक क्षति भएको छ ।
चुमनुब्री गाउँपालिका–६ स्थित खारोङ र उङजुलुङको बीचमा सुक्खा पहिरो खसेर स्यार खोला थुनिएपछि आइतबार बिहान बूढीगण्डकी नदीमा बाढी आएको हो । थुनिएको खोला फुटेर आएको बाढीले नदी किनारका बस्तीमा ठूलो क्षति पुर्याएको छ ।
बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन् । उनका अनुसार दोभान, घट्टेखोला, जगत र सल्लेरी गाउँमा समेत व्यापक क्षति भएको छ ।
हालसम्म बाढीबाट मानवीय क्षति भएको विवरण प्राप्त नभएको बताइएको छ । बाढीको जोखिम बढेपछि सम्भावित जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलका अनुसार सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ ।
तपाईको प्रतिक्रिया