कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण
कर्णाली । कर्णाली प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. भीमबहादुर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। असोज २३ गते उपाध्यक्षमा नियुक्त भएका खत्रीलाई मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आइतबार शपथ गराएका हुन्।
जुम्लाको तातोपानी गाउँपालिका–४, हाँकुमा विसं २०१४ फागुन ३ गते जन्मिएका खत्री कृषि अनुसन्धान क्षेत्रका अनुभवी वैज्ञानिक हुन्। उनी नेपाल सरकारका सेवानिवृत्त वरिष्ठ वैज्ञानिकसमेत हुन्।
खत्रीले विसं २०४१ मा रौतहटबाट सहायक कृषि विकास अधिकृतका रूपमा सरकारी सेवा सुरु गरेका थिए। त्यसपछि विसं २०४२ देखि २०४३ सम्म खुमलटारस्थित बालीरोग विज्ञान महाशाखामा काम गरेका उनले नेपाल सरकारद्वारा सञ्चालित स्वीस विकास सहयोग नेपाल परियोजनामा सात वर्ष विषयविज्ञका रूपमा सेवा गरेका थिए।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा नीतिगत तहमा रहेर काम गरेका खत्रीसँग कृषि अनुसन्धान, नीति निर्माण, योजना तर्जुमा तथा कार्यान्वयनको लामो अनुभव छ। नार्कअन्तर्गत देशभर रहेका ६१ अनुसन्धान केन्द्रको योजना निर्माण, समन्वय, अनुगमन तथा प्रशासनिक व्यवस्थापनमा समेत उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
डा. खत्रीले सन् १९९५ देखि २०१६ सम्म राष्ट्रिय आलु अनुसन्धान कार्यक्रममा वरिष्ठ वैज्ञानिकका रूपमा काम गरेका थिए। करिब २१ वर्षको अवधिमा उनले आलुको जात सुधार, मूल बीउ उत्पादन, वास्तविक आलुको बीउ (टिटिपिएस) प्रविधिको प्रवर्द्धन तथा किसानलाई उपयोगी हुने प्रविधि विकासमा योगदान पुर्याएका थिए।
यस अवधिमा उनले अन्तर्राष्ट्रिय आलु केन्द्रलगायत विभिन्न अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै अनुसन्धान परियोजनासमेत सञ्चालन गरेका थिए।
अनुसन्धानका अतिरिक्त खत्री त्रिभुवन विश्वविद्यालयमा बागवानी विषयको प्राध्यापन तथा विद्यावारिधि तहका शोधार्थीलाई प्राज्ञिक निर्देशन दिने कार्यमा पनि संलग्न छन्।
तपाईको प्रतिक्रिया