सोमबार २६ असोज २०८३
खेलकुद

रोहितको शतकसँगै क्यानडामाथि नेपालको शानदार जित

आइतबार असोज २५, २०८३/ Sunday 10-11-26

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत नेपालले क्यानडालाई २४ रनले पराजित गरेको छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा पूर्वकप्तान रोहित पौडेलको शतकीय पारीको मद्दतमा नेपालले महत्त्वपूर्ण जित निकालेको हो।

नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८ ओभर ४ बलमा २११ रनमा समेटियो। क्यानडाका लागि आरोन जोनसनले सर्वाधिक ४४ रन बनाए। अमित गोहेलले ३५, अखिल कुमारले अविजित ३० तथा श्रेयस मोभ्भा र कप्तान हम्जा तारिकले समान २६ रन जोडे।

नेपालका सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी र नन्दन यादवले समान दुई विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै १०१ रन बनाए। चौथो क्रममा आएका उनले १२६ बलमा आठ चौका र एक छक्का प्रहार गरे। ४८ ओभर ३ बलमा आउट भएका रोहितको यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो शतक हो।

रोहितले शतक बनाउँदै नेपाली खेलाडीमध्ये एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक शतक बनाउने कीर्तिमान आफ्नो नाममा पारेका छन्।

नेपालका लागि गुल्सन झाले आक्रामक ब्याटिङ गर्दै ३४ बलमा ४८ रन बनाए। उनले चार चौका र तीन छक्का प्रहार गरे। उनी अर्धशतक बनाउन दुई रनले चुके।

ओपनर अर्जुन कुमालले २३ तथा बसिर अहमदले ३० रन बनाए। आशिफ शेख चार रन र इशान पाण्डे शून्यमा आउट भए। करण केसीले चार तथा नन्दन यादव र ललित राजवंशीले समान दुई रन जोडे। कप्तान सन्दीप लामिछानेले दुई रन बनाए।

क्यानडाका अखिल कुमारले चार विकेट लिए भने सुखजिन्दर सिंहले तीन र जाहिद शिरजादले दुई विकेट हात पारे।

लिग–२ अन्तर्गत नेपालले क्यानडा र ओमानसँग दुई–दुई खेल खेल्ने तालिका छ। प्रतियोगिताको शीर्ष चार टोलीले सन् २०२७ मा हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछन्।

क्यानडामाथिको जितसँगै नेपाल अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। नेपालले ३३ खेलबाट २६ अंक जोडेको छ। ३४ खेलबाट २५ अंक रहेको क्यानडा सातौँ स्थानमा झरेको छ।

अंकतालिकामा ओमानले २९ खेलबाट ३३, नामिबियाले ३५ खेलबाट ३१ र संयुक्त अरब इमिरेट्स (यूएई) ले ३१ खेलबाट १९ अंक जोडेका छन्। अमेरिका ३४ खेलबाट ४७ अंकसहित शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको छ। स्कटल्यान्डले ३६ खेलबाट ४५ र नेदरल्यान्ड्सले ३२ खेलबाट ३८ अंक जोडेका छन्।

 

तपाईको प्रतिक्रिया