बूढीगण्डकी बाढी : २६ घर र चार पुल बगे, पाँच जना बेपत्ता, ४८ जनाको सकुशल उद्धार
गोरखा । बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाको उत्तरी क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण २६ घर र नौ गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने पाँच जना बेपत्ता भएका छन्।
नेपाल प्रहरीले आइतबार साँझ ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रबाट ४८ जनाको सकुशल उद्धार गरिएको जनाएको छ।
प्रहरीका अनुसार बाढीले दुईवटा पक्की पुल र दुईवटा झोलुङ्गे पुल बगाएको छ। पुल बगाएपछि प्रभावित क्षेत्रमा यातायात तथा आवतजावत अवरुद्ध भएको छ।
त्यस्तै, बाढीले तीनवटा जलविद्युत् आयोजनामा समेत क्षति पुर्याएको छ। नदीमा आएको बाढीले बस्ती, पूर्वाधार तथा स्थानीय जनजीवनमा गम्भीर असर पारेको छ।
बेपत्ता भएका पाँच जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। उद्धार, खोजी तथा राहत वितरणका लागि ५३८ जना प्रहरी परिचालन गरिएको छ।
बाढीबाट प्रभावित नागरिकको उद्धार तथा जोखिममा रहेका बस्तीको अवस्थाबारे थप विवरण संकलन भइरहेको छ।
तपाईको प्रतिक्रिया