मंगलबार २७ असोज २०८३
समाज

बूढीगण्डकीमा बाढी आउनुको कारण हिमपहिरो भएको जलस्रोत अनुसन्धान केन्द्रको निष्कर्ष

सोमबार असोज २६, २०८३/ Monday 10-12-26

काठमाडौँ । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले गोरखाको बूढीगण्डकी नदीमा आइतबार आएको बाढीको मुख्य कारण हिमपहिरो वा चट्टानी पहिरो हुन सक्ने निष्कर्ष निकालेको छ।

केन्द्रले सार्वजनिक गरेको बाढीसम्बन्धी स्थिति प्रतिवेदनअनुसार अक्टोबर १० मा नदीको माथिल्लो क्षेत्रमा व्यापक हिमपात भएको देखिएको छ। सोही उच्च भागबाट ठूलो हिमपहिरो वा चट्टानी पहिरो सुरु भएको प्रारम्भिक विश्लेषणले देखाएको केन्द्रले जनाएको छ।

केन्द्रको भौगोलिक तथा भौगर्भिक विश्लेषणअनुसार अक्टोबर ६ को भूउपग्रह तस्बिरमा बाढीको उद्गमस्थलको माथिल्लो भागमा थोरै हिउँ र चट्टानी ढलान देखिएको थियो। तर, अक्टोबर १० को तस्बिरमा उक्त क्षेत्रमा व्यापक नयाँ हिमपात भएको र माथिल्लो हिमशिखरबाट गाढा कालो रेखाजस्तो गेग्रान बहाव ठाडो खोँच हुँदै तलतिर झरेको देखिएको छ।

यसले भीषण हिमपहिरो वा लेदोसहितको पहिरोले बाटोमा रहेका वनस्पति र माटो बगाएर लगेको संकेत गर्ने केन्द्रको विश्लेषण छ।

केन्द्रका अनुसार तीव्र गतिमा बगेको लेदो तथा गेग्रान चुम्लिङ र रिप्चेत नजिकै बूढीगण्डकी नदीको दोभानमा पुगेर थुप्रिएको थियो। तल्लो उपत्यकामा बनेको गेग्रानको थुप्रोले केही समयका लागि नदीको प्राकृतिक बहावमा अवरोध सिर्जना गरेको हुन सक्ने प्रतिवेदनमा उल्लेख छ।

 

तपाईको प्रतिक्रिया