प्रहरी निरीक्षकलाई प्रधानमन्त्रीको निर्देशन : दबाब र प्रभावमा नपरी काम गर्नू
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रहरी निरीक्षकहरूलाई कुनै पनि प्रकारको राजनीतिक दबाब वा व्यक्तिगत स्वार्थबाट प्रभावित नभई निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्।
सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधान, प्रचलित कानुन र नियमको पालना गर्दै इमानदारीपूर्वक काम गर्न प्रहरी अधिकृतहरूलाई आग्रह गरेका हुन्।
नेपाल प्रहरीको छवि उच्च राख्न इमानदारी र अनुशासन महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले प्रहरी अधिकृतहरूलाई व्यावसायिक मर्यादा र नैतिकता कायम राख्न निर्देशन दिए।
करिब १६ महिनाको तालिम पूरा गरेका नयाँ प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै प्रधानमन्त्री शाहले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न आग्रह गरे। उनले निष्ठा, इमानदारी, अनुशासन र जवाफदेहितालाई कार्यसम्पादनको आधार बनाउनुपर्नेमा जोड दिए।
प्रहरी संगठनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री शाहले स्पष्ट पारे। उनले संगठनको मर्यादाविपरीतका गतिविधि तथा अनुचित प्रभावबाट टाढा रहेर निर्भीकताका साथ कर्तव्य निर्वाह गर्न प्रहरी अधिकृतहरूलाई आग्रह गरे।
तपाईको प्रतिक्रिया