काठमाडौँ । बडादसैँअन्तर्गत नवरात्रको दोस्रो दिन आज नवदुर्गामध्ये ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।
नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखिएको पूजास्थलमा आज ब्रह्मचारिणी देवीको आह्वान गरेर पूजा गरिन्छ। वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा भवानीको विशेष आराधना गर्ने परम्परा छ।
नवरात्रका नौ दिनसम्म दुर्गा सप्तशती, श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थ तथा देवी स्तोत्र पाठ गर्ने चलन छ। देवीको पूजा आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा भक्तजनले पूजाआजा र दर्शन गरिरहेका छन्। हनुमानढोका दरबारस्थित दसैँघरमा पनि राज्यका तर्फबाट ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।
नवरात्रमा नौ दिनसम्म गरिएको पूजाको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने परम्परा छ।
तपाईको प्रतिक्रिया