मंगलबार २७ असोज २०८३
राजनीति

प्रहरीको शक्ति नागरिकको विश्वासमा निहित छ : आईजीपी कार्की

सोमबार असोज २६, २०८३/ Monday 10-12-26

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको वास्तविक शक्ति कानुनी अधिकारसँगै नागरिकले गर्ने विश्वासमा निहित रहेको बताउनुभएको छ ।

प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सोमबार सम्बोधन गर्दै उहाँले नेपाल प्रहरीलाई प्रविधिमैत्री, पारदर्शी, व्यावसायिक र नागरिकप्रति उत्तरदायी सङ्गठनका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न प्रहरीले आफ्नो कार्यशैलीमा व्यापक सुधार गर्नुपर्ने उहाँको भनाइ थियो । साइबर अपराध, अन्तरदेशीय अपराध तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न प्रहरी सङ्गठन समयअनुसार परिमार्जित हुनुपर्ने उहाँले बताउनुभयो ।

आईजीपी कार्कीले प्रहरी कर्मचारी बाह्य प्रभाव, व्यक्तिगत आग्रह र अनुचित दबाबबाट मुक्त रही निष्पक्ष रूपमा कानुन कार्यान्वयनमा लाग्नुपर्ने उल्लेख गर्नुभयो । नागरिकले प्रहरीको निर्णयमा असहमति जनाए पनि प्रहरीको व्यवहार निष्पक्ष रहेको अनुभूति गर्ने वातावरण निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले नेपाल प्रहरी संविधान र प्रचलित कानुनप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै सङ्गठनलाई सक्षम, सुदृढ र पारदर्शी बनाउन निरन्तर प्रयास भइरहेको बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया