बुधबार २८ असोज २०८३
समाज

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

मंगलबार असोज २७, २०८३/ Tuesday 10-13-26

काठमाडौँ । बडादसैँअन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

पौराणिक मान्यताअनुसार शिरमा अर्धचन्द्र र घण्टा धारण गर्ने भएकाले देवीको नाम चन्द्रघण्टा रहन गएको हो। मार्कण्डेय पुराणमा समेत चन्द्रघण्टा देवीको स्वरूप र नामबारे उल्लेख गरिएको छ।

चन्द्रघण्टा देवीलाई शान्त, करुणामयी तथा शक्तिको प्रतीकका रूपमा पूजा गरिन्छ। धार्मिक विश्वासअनुसार उनको आराधना गर्दा साहस, शक्ति र सकारात्मक ऊर्जा प्राप्त हुनुका साथै पाप नाश हुने मान्यता छ। सङ्गीत क्षेत्रमा संलग्न व्यक्तिहरूले पनि यस दिन देवीको विशेष पूजा गर्ने परम्परा रहेको छ।

नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत वाल्मीकि विद्यापीठका सेवा निवृत्त प्राध्यापक तोयराज नेपालका अनुसार नवरात्रमा देवीको पूजा आराधना गर्नुको उद्देश्य शक्ति प्राप्त गर्नु हो। त्यस्तै, विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले विभिन्न पुराण तथा धार्मिक ग्रन्थमा चन्द्रघण्टा देवीको महिमा वर्णन गरिएको बताएका छन्।

नवरात्रको पहिलो दिन घटस्थापना गरी दसैँघर तथा पूजा कोठामा जौको जमरा राख्ने परम्परा छ। पहिलो दिन शैलपुत्री र दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिन्छ भने तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना गर्ने चलन छ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत तथा अन्य देवी स्तोत्र पाठ गरिन्छ। धार्मिक विश्वासअनुसार यस अवधिमा देवीको पूजा आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ।

वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको विशेष पूजा गर्छन्। नवरात्रका नौ दिन क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा आराधना गरिन्छ।

नवरात्रका अवसरमा काठमाडौँ उपत्यकासहित देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा दर्शन र पूजाआजाका लागि भक्तजनको भीड लाग्ने गर्छ। कतिपय भक्तजनले नौ दिनमा विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परासमेत निर्वाह गर्दै आएका छन्।

नवदुर्गाको आराधनासँगै सुरु हुने बडादसैँमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाएर आशीर्वाद लिने चलन छ। यसरी नेपाली समाजमा बडादसैँलाई धार्मिक, सांस्कृतिक तथा पारिवारिक महत्त्व बोकेको प्रमुख पर्वका रूपमा मनाइन्छ।

 

तपाईको प्रतिक्रिया