नेप्से परिसूचक सामान्य अंकले बढ्यो, कारोबार रकममा सुधार
काठमाडौं । मंगलबार नेप्से परिसूचक ४.१२ अंकले बढेर २,५९९.९३ विन्दुमा बन्द भएको छ। अघिल्लो दिन सोमबार नेप्से ४ अंकले बढेर २,५९५.८१ विन्दुमा रोकिएको थियो।
परिसूचकमा सामान्य वृद्धि भए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। सोमबार ४ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा मंगलबार ४ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो।
यस दिन ३५१ वटा स्क्रिप्सका १ करोड ३५ लाख ५३ हजार ९७ कित्ता सेयर ४ अर्ब ७३ करोड ६९ लाख २६ हजार ४०९ रुपैयाँमा खरिद–बिक्री भए। कारोबारमा आएका कम्पनीमध्ये १०४ वटाको सेयर मूल्य बढ्दा १६७ वटाको घट्यो। बाँकी ७ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो।
नेप्सेमा सुधार देखिए पनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। सगरमाथा जलविद्युत कम्पनीको सेयर मूल्य सर्वाधिक १२.४४ प्रतिशतले बढ्यो। यता, स्नो रिभर्सको सेयर मूल्य १५ प्रतिशतले घट्यो। धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर १२.८७ प्रतिशतले घट्दा एनआईसी एसिया सेलेक्ट फन्ड ३० को सेयर मूल्य ५.२३ प्रतिशतले ओरालो लाग्यो।
घलेम्यादी हाइड्रोको ३६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएसँगै कम्पनी कारोबार रकमका आधारमा शीर्ष स्थानमा रह्यो। माउन्टेन इनर्जी नेपाल र कुमारी बैंकको २५/२५ करोड रुपैयाँ बराबरको कारोबार भयो। रिलायन्स स्पिनिङ मिल्सको १२ करोड तथा लक्ष्मी सनराइज बैंकको १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
मंगलबार पाँच समूहका उपसूचक बढेका छन् भने बाँकी समूहका उपसूचक घटेका छन्। बैंकिङ, विकास बैंक, लगानी, जीवन बीमा र निर्जीवन बीमा समूहका उपसूचक बढ्दा अन्य समूहका उपसूचक नकारात्मक रहे।
तपाईको प्रतिक्रिया