काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमेरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ।
लिग–२ को शीर्ष चारमा पर्ने सम्भावना गुमाइसकेको नेपालका लागि अब एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनु प्रमुख लक्ष्य बनेको छ। त्यसका लागि नेपालले बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्नुपर्नेछ।
आइतबार क्यानडालाई पराजित गरेपछि नेपालको ओडीआई मान्यता जोगाउने सम्भावना कायम छ। नेपालले ओमान र क्यानडासँग खेल्न बाँकी चारमध्ये कम्तीमा तीन खेल जित्न सके शीर्ष ६ मा रहने सम्भावना बलियो बनाउन सक्छ।
आठ टोली सहभागी लिग–२ को अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंकसहित छैटौँ स्थानमा छ। ओमानले २९ खेलबाट ३३ अंक जोडेको छ भने क्यानडा ३४ खेलबाट २५ अंकसहित नेपालभन्दा पछाडि छ। नामिबिया ३५ खेलबाट ३१ अंकसहित रहेको छ भने यूएई ३२ खेलबाट १९ अंक जोड्दै तालिकाको अन्तिम स्थानमा छ।
नेपालले आज ओमानसँग खेलेपछि आगामी शनिबार क्यानडासँग र कात्तिक २ गते पुनः ओमानसँग प्रतिस्पर्धा गर्नेछ। बाँकी खेलमा प्राप्त गर्ने नतिजाले नेपालको ओडीआई मान्यता कायम रहने वा नरहने भन्ने विषयमा महत्वपूर्ण भूमिका खेल्नेछ।
तपाईको प्रतिक्रिया