बुधबार २८ असोज २०८३
खेलकुद

नेपालले ओमानलाई दियो २ सय ६४ रनको लक्ष्य

मंगलबार असोज २७, २०८३/ Tuesday 10-13-26

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले ओमनलाई २ सय ६४ रनको लक्ष्य दिएको छ।

ओमनको अल अमारात मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६३ रन बनाएको हो।

नेपालका लागि पूर्वकप्तान रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए। ६७ बलको सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरे। यसअघि क्यानडाविरुद्धको खेलमा रोहितले शतक बनाएका थिए।

सातौँ क्रममा ब्याटिङ गर्न आएका करण केसीले आक्रामक प्रदर्शन गर्दै १६ बलमा ४० रन बनाए। इनिङको अन्तिम बलमा रन आउट भएका उनले ४९औँ ओभरको दोस्रो, तेस्रो र चौथो बलमा हस्नैन अलीलाई लगातार तीन छक्का प्रहार गरेका थिए।

त्यस्तै, अर्जुन कुमालले ५९ बलमा ४० रन जोडे। बसिर अहमद र डा. ईशान पाण्डेले समान ३७ रन बनाए।

ओमनका लागि शाह फैसल, करण सोनावाले र शकील अहमदले समान २ विकेट लिए भने हस्नैन शाहले १ विकेट हात पारे।

 

तपाईको प्रतिक्रिया