बुधबार २८ असोज २०८३
खेलकुद

ओमनमाथि नेपालको ११३ रनको शानदार जित

मंगलबार असोज २७, २०८३/ Tuesday 10-13-26

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले ओमनलाई ११३ रनले पराजित गरेको छ। मंगलबार ओमनको अल अमेरात मैदानमा भएको खेलमा नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमन ४० ओभरमा १५० रनमै समेटियो।

ओमनका लागि विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। उनले ८३ बलमा ६ चौका र एक छक्का प्रहार गरे। त्यस्तै, जय ओडेद्राले ५७ बलमा २५ रन बनाए। शुक्ला र ओडेद्राले सातौँ विकेटका लागि ८३ रनको साझेदारी गरेका थिए।

ओपनर जतिन्दर सिंहले १८ रन बनाउनु बाहेक ओमनका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि सन्दीप लामिछाने र नन्दन यादवले समान तीन विकेट लिए। दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिँदा ललित राजवंशी र करण केसीले एक–एक विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २६३ रन बनाएको थियो। नेपालका लागि पूर्वकप्तान रोहित पौडेलले सर्वाधिक ६१ रनको योगदान दिए। उनले ६७ बलमा तीन चौका र एक छक्का प्रहार गरे। यसअघि क्यानडाविरुद्धको खेलमा पनि रोहितले शतक बनाएका थिए।

नेपालका करण केसीले आक्रामक ब्याटिङ गर्दै १६ बलमा ४० रन जोडे। उनी इनिङ्सको अन्तिम बलमा रनआउट भए। करणले ४९औँ ओभरमा हस्नैन अलीको लगातार तीन बलमा छक्का प्रहार गरेका थिए।

त्यस्तै, अर्जुन कुमालले ५९ बलमा ४० रन बनाए भने बसिर अहमद र डा. ईशान पाण्डेले समान ३७ रनको योगदान दिए।

ओमनका लागि शाह फैसल, करण सोनावाले र शकील अहमदले समान दुई विकेट लिए भने हस्नैन शाहले एक विकेट हात पारे।

यस जितसँगै नेपालले विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा महत्त्वपूर्ण सफलता हात पारेको छ।

 

तपाईको प्रतिक्रिया