काठमाडौँ । बडादसैँअन्तर्गत नवरात्रको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। यस अवसरमा देशभरका दसैँघर, पूजा कोठा तथा शक्तिपीठमा देवीको दर्शन र पूजाआजा गर्ने भक्तजनको चहलपहल बढेको छ।
धार्मिक परम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा देवीको पूजा गरिन्छ। आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीन प्रकारका दुःख तथा कष्ट हटाउने देवीका रूपमा कुष्माण्डालाई मानिन्छ। भक्तजनले श्रद्धापूर्वक उनको आराधना गर्दा शक्ति, ऐश्वर्य र ज्ञान प्राप्त हुने धार्मिक विश्वास छ।
नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखेपछि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी र चन्द्रघण्टा देवीको पूजा गरिएको थियो। आज चौथो दिन कुष्माण्डाको आराधना गरिँदै छ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती, देवीभागवतलगायत धार्मिक ग्रन्थ पाठ गर्ने परम्परा छ। नवरात्रका क्रममा क्रमशः कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री देवीको पूजा गरिन्छ।
यस अवसरमा काठमाडौँ उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, नक्साल भगवती, शोभाभगवती, रक्तकाली र दक्षिणकालीलगायत मन्दिरमा भक्तजन पुग्ने गर्छन्। उपत्यकाबाहिर मनकामना, पलाञ्चोक भगवती, गढीमाई, छिन्नमस्ता, बागलुङ कालिका र विन्ध्यवासिनीलगायत शक्तिपीठमा पनि पूजाआजा तथा दर्शन गर्ने धार्मिक परम्परा छ।
नवरात्रको नवौँ दिनसम्म देवीको आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी नेपालीले बडादसैँ मनाउने गर्छन्।
तपाईको प्रतिक्रिया